पोखरा महोत्सवमा हिमाली याक र घोडसवारले रौनक बढ्दै

पोखरा । बिहीबार देखी पोखराको अमरसिंह मैदानमा जारी बाह्रौँ महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको दोस्रो दिन जारी रहँदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोडसवारले रौनक थपेको हो ।
हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनी सँगै यसका बारेमा जानकारी दिइने भएकाले महोत्सवमा आउनेहरूले महोत्सवको रमाइलो सँगै याकको बारेमा जान्न सक्नेछन् ।
त्यसै गरी महोत्सवमा घोडसवारबाट समेत दर्शकहरूले मनोरञ्जन लिन सक्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
त्यसै गरी महोत्सव प्रवेशमा काटिने हरेक टिकटमा नेपाल टेलिकमको सिम कार्ड निःशुल्क गरिएको छ । महोत्सवको टिकट काटेर भित्र छिर्ने दर्शकले महोत्सव परिसरमा राखिएको नेपाल टेलिकमको स्टलबाट सिम कार्ड लिन सक्नेछन् । त्यसै गरी पोखरा महोत्सवमा घरमै बसेर पनि अनलाइनमार्फत टिकट काट्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए ।
महोत्सवमा बढी भिडभाड हुने भएकाले आयोजकले रेभल सँग सहकार्य गरेर अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाएको हो । महोत्सवमा आउन चाहने दर्शकहरूले घरमै बसेर रेभल एप मार्फत पोखरा महोत्सवको टिकट काट्न सक्नेछन् ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा लोकदोहोरी र विभिन्न ख्याति प्राप्त ब्यान्डहरूको लाइभ कन्सर्टबाट समेत दर्शकहरूले मनोरञ्जन लिन सक्नेछन् । महोत्सवमा शुक्रवार लोकदोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिव हरि ढुङ्गाना, केशव सापकोटा, सुरेश रमन अधिकारी, सन्तोष सुवेदी, ज्योति लोहनी, पूजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुति मार्फत दर्शकहरूले मनोरञ्जन लिएका थिए भने साँझको लाइभ ब्यान्ड तर्फ स्थानीय ब्यान्डहरू ब्ल्याक फेदर, प्रोभर्वस र ब्ल्याक ओको प्रस्तुतिमा युवाहरू झुमेका थिए ।
महोत्सवमा शनिवार लोकदोहोरी तर्फ प्रीति आले, प्रजापति पराजुली, जीवन दाहाल, शिव हरि ढुङ्गाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, सगीता गुरुङ लगायतको प्रस्तुति रहनेछन् । हांस्यब्यङग्य तर्फ दीपक थापा मगर र साँझको लाइभब्याण्ड तर्फ माइलाको प्रस्तुति रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।