अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाडौँ । अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् ।
प्रहरीले दक्षिणकाली नगरपालिका–५, नारायणनाथबाट अमेरिकन डलरसँग सटही गर्ने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ निगालेका कुमार तामाङ भनिने हस्तबहादुर तामाङलाई पक्राउ गरेको हो ।
तामाङले गोदावरी नगरपालिका–९ का विजय कुँवरलाई ठगेका थिए ।
तामाङले आफूसँग ८ हजार डलर रहेको भन्दै नेपाली पाँच लाख रुपैयाँ दिए सो डलर उपलब्ध गराउने भनेर पाँच लाख रुपैयाँ लिएको र सुरुमा ५० दरका अमेरिकन डलर दिई बाँकी भित्र छ भनेर दिएर फरार भएको प्रहरीको भनाइ छ ।
तर कुँवरले भने बाहिर ५० दरका अमेरिकन डलर राखेको र भित्र भने नेपाली २० रुपैयाँका २४० वटा नोटहरू राखेर दिएको आरोप लगाएका छन् ।
कुँवरले कीर्तिपुर प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको काठमाडौँका एसपी कमोद ढुङ्गेलले जानकारी दिए । प्रहरीले तामाङको साथबाट ५० दरको अमेरिकन डलर १ थान र २० दरको नेपाली नोट २४० थान बरामद गरेको छ । तामाङलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।