करोड खर्च गरेर अध्ययनका विदेश पठाउन रोकौँ : मन्त्री राणा

दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणा(सरोज थापा)ले आफ्ना सन्तानलाई स्वदेशमा लगानी गरेर उद्योग व्यवसायमा लाग्न अभिभावकहरूले सिकाउनुपर्ने बताएका छन् ।
एक करोडसम्म खर्च गरेर अध्ययनको बहानामा सन्तानलाई विदेश पठाउने गरेको बताउँदै राणाले विदेश पठाउन लाग्ने रकम खर्च गरेर स्वदेशमा लगानी गरी उद्योग, व्यवसाय चलाउनुपर्ने बताएका हुन् ।
बिहीबार देउखुरीको लाल मटियामा राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको ‘छैटौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महोत्सव २०८०’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने,‘युवाहरू खाडीमा जाने, त्यहाँबाट आएको रेमिट्यान्सले नेपाललाई धेरै टेवा पुग्ने र हामीले यहाँ नै केही गर्न सकेको भए ती युवाहरू आफ्नो घरमा बस्न पाउँथे ।’
त्यस्तै मन्त्री राणाले उद्योगहरूले रोजगारी सिर्जना गरी जनतालाई योगदान पुर्याएको आधारमा सहयोग गर्ने पनि बताए । उनले भने, ‘लुम्बिनीका १२ वटा जिल्लालाई सफल बनाउन मन्त्री बनेर आएको छु । सहजीकरण गरेर सहयोग गर्छु ।’ तपाईँहरूले कति मान्छेलाई रोजगार दिनुहुन्छ ? त्यसको आधारमा तपाईँहरूलाई सहयोग हुन्छ । मैले अनुगमन समिति पनि गठन गर्न लागेको छु ।’
यातायात कार्यालयहरूमा देखिएको बेथितिलाई सुधार गर्न आफूले सुरुवात गरेको मन्त्री राणाले बताए । उनले भने,‘ नौ वटा कार्यालयका प्रमुखहरूलाई बोलाएर केही निर्देशन दिएको छु । यातायातमा धेरै बेथिति छ । एक÷दुई ठाउँमा मैले के देखे भने लाइसेन्स लिन गएको छ तर, उसैको मोटरसाइकल चाहिन्छ, उसकै गाडी चाहिन्छ भन्नेछ ।’
‘लाइसेन्स नभएको मान्छेको कसरी गाडी र मोटरसाइकल हुन्छ ? यो कुरा मैले सोधे उहाँहरू अक्कन बक्क भएपछि नियम खारेज गर्नुस् र जसलाई जो साधन उपलब्ध हुन्छ त्यही साधनले नै ट्रायल दिन पाउनुपर्छ’, उनले भने ।
राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले महोत्सवमा सहभागी अतिथिहरूप्रति आभार प्रकट गरे । कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्र जीत चौधरी, कांग्रेस नेता नुमानन्द सुवेदी, द्रोण भुसाल, राप्ती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उमेश अधिकारी, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेत, कांग्रेस नेता हस्त गुरुङलगायतको उपस्थिति रहेको थियो ।
महोत्सव दुई हप्ता चल्नेछ । महोत्सवमा स्थानीय समुदायले आफ्नो परम्परागत सांस्कृतिक झल्किने प्रस्तुतिहरू देखाएका थिए । थारु समुदायको लोप हुन लागेको डोली, झुम्रा नाच र बड्का नाचहरू पनि प्रस्तुत गरिएको थियो ।