बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । मंगलबार राति काठमाडौंमा पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
बुधबार राति स्थलमार्गबाट सर्लाही लगिएका बम्जनलाई जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो। बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दा दर्ता छ। उक्त मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
आफ्नै बाल अनुयायीमाथि यौनशोषण गरेको आरोपमा २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितहरूले जाहेरी दिएका थिए। प्रहरीले अनुसन्धान सम्पन्न गरेर १८ असार ०७७ मा जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल दर्ता गरेको थियो।