उत्सव ढुंगाना क्यानको महाप्रबन्धक नियुक्त

काठमाडौं /उत्सव ढुंगना नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्त भएका छन्। विस्तृत छनोट प्रक्रिया पश्चात ढुंगानालाई महाप्रबन्धकमा औपचारिक रुपमा नियुक्त गरेको क्यानले सोमवार विज्ञप्ति मार्फत जनाएको छ।
महाप्रबन्धकको रिक्त पदमा भर्ना गर्न १५ दिनको सूचना जारी गरिएको थियो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदमबहादुर खड्काको संयोजकत्वमा महाप्रबन्धक छनोट समिति गठन भएको थियो ।
महाप्रबन्धकको पदको लागि राखिएको सूचना मार्फत कुल ६८ आवेदनहरू प्राप्त भएको क्यानले जनाएको छ।
प्रारम्भिक छनौटमा परेका १४ उम्मेदवारहरूलाई लिखित परीक्षाको लागि बोलाइएको थियो जसमा शीर्ष सात उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता भएको क्यानले जनाएको छ।
‘छनोट समितिले प्रस्तुति र अन्तर्वार्तालाई राम्ररी समीक्षा गरेपछि ढुंगानालाई उक्त पदका लागि शीर्ष उम्मेदवारको रूपमा चयन गरियो।’क्यानको विज्ञप्तिमा उल्लेख छ,’क्यानको विकास,प्रगति र सफलतामा उत्सव ढुंगानाले महत्त्वपूर्ण योगदान पुर्याउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।’