चीनका खेल अधिकारी सँग सदस्य सचिवको प्रस्ताव:’निश्चित खेलबाट सहकार्य सुरु गरौँ’

काठमाडौँ / राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औँ एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउसंगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् ।
सदस्य–सचिव घिसिङले झेङ याउको नेतृत्वमा आएको टोलीसँग शुक्रवार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका क्रममा सो कुरा बताएका हुन् ।
‘सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहन्छौँ । कुन कुन खेलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी खाका तयार गरेर फेरि यहाँहरूलाई सम्पर्क गर्छौँ ।’ सदस्य–सचिव घिसिङले भने ।
सदस्य–सचिव घिसिङले १९ औँ एसियाली खेलकुद सफलतापूर्वक आयोजना गर्नुका साथै टिम च्याम्पियन बन्न सफल भएकोमा बधाई दिँदै झेजियाङ प्रदेशले खेलकुद, आर्थिकलगायत विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुसी लागेको बताए । सदस्य–सचिव घिसिङले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाल र चीनबिच नेपालमा उमेर समूहको फुटबल प्रतियोगिता आयोजनाका लागि पनि छलफल भइरहेको स्मरण गराएका थिए ।
निर्देशक झेङ याउले १९ औँ एसियाली खेलकुदमा नेपालको सहभागिता उत्साहजनक रहेको बताउँदै भेटको उद्देश्य खेलकुदमा दुई पक्षबिच कसरी सहयोग आदान प्रदान गर्न सकिन्छ भन्ने रहेको बताए । उनले झेजियाङ प्रदेशका खेलाडीले ओलम्पिकलगायत महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै छलफललाई निरन्तरता दिँदै नेपाली खेलकुदलाई सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
भेटका अवसरमा झेङ याउको नेतृत्वमा आएको ९ सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।