कांग्रेस निर्णय : उम्मेदवार छनोटमा मापदण्ड, भ्रातृ संस्थाहरुको अधिवेशन ६ महिनाभित्र
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार चयन गर्दा मापदण्ड लागू गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवार छनोटमा मापदण्ड लागू गर्ने लगायतका विभिन्न ९ वटा निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । पार्टीको औपचारिक निर्णय आइतबार सार्वजनिक गर्ने उनले बताए ।
बैठकपछि प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनोट गर्दा लामो समयसम्म योगदान गरेका, तर अहिलेसम्म कुनै पनि अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिने भन्ने निर्णय भएको छ, साथै, भूगोल, क्षेत्र र समुदायलाई पनि समेटेर उम्मेदवार बनाउने भन्ने निर्णय भएको छ ।’
बैठकले आगामी माघ ७ देखि २२ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जाजरकोट भूकम्पबाट पीडितहरूका लागि एक हजार अस्थायी आवास निर्माण सम्पन्न भएकोमा सबै नेता कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयमा समेत सरकारलाई ध्यानाकर्षण गराउने निणर्य भएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । यसैगरी बैठकले शान्ति प्रक्रियाका कामहरु पूरा गर्नका लागि आउँदो संसद अधिवेशनमा कानुन निर्माणलाई तिव्रता दिने निर्णय गरेको छ भने समय पुगेर तदर्थवादमा चलिरहेका नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुलाई ६ महिनाभित्र अनिवार्य अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ ।
१३ वटा मध्य अहिले ९ वटा भ्रातृ संस्थाहरुको म्याद सकिएको छ । नेविसंघ तरुणदल लगायतका भ्रातृ संस्थाको अव अनिवार्य अधिवेशन गर्नु पर्ने छ ।














