‘अभिजित र रमेश माथि सज्जन राज वैद्यको चुनौती’
पेन्सिल्भेनिया/ अमेरिकाको डिसी मेट्रो क्षेत्रमा नेपाली समुदायमा जोसिला युवा हुन अभिजित राई र रमेश भट्ट । अन्य सामाजिक अभियानका साथसाथै साङ्गीतिक र खेलकुद क्षेत्रमा यिनीहरू केही न केही कार्यक्रम गरिरहेका हुन्छन्।
अभिजित भर्जिनियामा बस्छन्। साङ्गीतिक कार्यक्रमका लागि उनको इ पिक इन्टरटेनमेन्ट छ। खेलकुदका लागि एभरेस्ट लायन्स क्लब। रमेश मेरिल्यान्डका बासिन्दा हुन्। एभरेस्ट इन्टरटेनमेन्ट मार्फत साङ्गीतिक गतिविधिमा सक्रिय रमेश साथी माल्टिमोरका संस्थापक अध्यक्ष हुन्।
दुई फरक राज्यमा रहेका यी दुई तन्नेरी आफ्ना सहकर्मीका साथ नयाँ वर्षको सुरुवातमा एक भएर ‘साङ्गीतिक चुनौती’ लागि जुटेका छन्। नेपालमा वर्तमानमा सर्वाधिक चर्चित मध्येका एक हुन् गायक सज्जन राज वैद्य।
उनको युट्युब च्यानलमा १.२६ मिलियन सस्काइभर छन्। सज्जनका ११ म्युजिक भिडियोले दश मिलियन भ्यु नाघेको छ। जसमा ६० मिलियन भन्दा धेरै हेरिएका दुई वटा छन्।
त्यति मात्र कहाँ हो र, विश्वमा नै धेरै सुनिने मध्येमा पर्ने स्पोटीफाई एपमा पनि सज्जनले नाम अनुरूपकै स्थान पाएका छन्। उनी त्यो एपमा सबै भन्दा धेरै सुनिने नेपाली गायक बनेका छन्।
एक सय ६६ देशमा उनका गीत सुनिएको तथ्याङ्क छ। उनका गीत ३७.८ मिलियन पटक सुनिएको छ।
यिनै चल्तीका गायक सज्जनलाई डिसी मेट्रोका नेपाली सँग प्रत्यक्ष जोड्ने चुनौती अभिजित र रमेशहरूले उठाएका हुन्। सन् २०२४ जनवरी ६ तारिख शनिवार साँझ मेरिल्यान्डको सिल्भर स्प्रिङमा साङ्गीतिक कार्यक्रमको आयोजना गर्दै।

कार्यक्रमको बजेट डिसी मेट्रोमा अहिले सम्मकै उच्च छ। एक लाख डलरको बजेट रहेको अभिजितको भनाई छ। ‘अन्य बेलाको भन्दा पृथक् हुन्छ, अन्तर्राष्ट्रिय स्तरको हुन्छ, अत्याधुनिक हलमा हामी कार्यक्रम गर्दै छौ।’ समाज टाइम्स सँगको कुराकानीमा अभिजितले भने।
उनले रिस्टब्यान्ड नै उच्च कोटिको हुने बताए। ‘गीत अनुसार लाइट र कलर चेन्ज हुन्छ रिस्टब्यान्डमा’ अभिजितले थपे,’एलइडी लाइट र साउन्ड सिस्टम पनि अत्याधुनिक छ, ब्यान्ड लाइभ हुन्छ । हामी जीवनको उत्कृष्ट नेपाली कन्सर्ट रात होस् भन्ने वाचा गर्दछौं। सुन्दर र ऐतिहासिक स्थल जहाँ विश्वभरका चर्चित कलाकारहरूले प्रस्तुति दिएका छन्।’
टिकट मूल्य साधारण तर्फ एक सय तीन डलर तोकिएको छ। भिआइपी टिकटको मूल्य एक सय ४५ डलर राखिएको छ। भिआइपी टिकट लगभग बिक्री भइसकेको अभिजितको भनाई छ। भिआइपी टिकट लिनेले गायक सँग मिट दि ग्रिटको अवसर पाउने छन्।
अभिजितका अनुसार कार्यक्रम हुने हलको क्षमता दुई हजार जनाको रहेको छ। शनिवार साँढे छ बजेबाट सुरु हुने कार्यक्रम दुई घण्टा चल्ने छ।
‘हामी दुई संस्थाले संयुक्त रूपमा कार्यक्रम गर्न लागेको यो दोस्रो अवसर हो यस अगाडि दिमाग खराब हामीले मिलेर देखाएका थियौ।’ अभिजितले भने,’यस पटक हामीले ठुलै चुनौती उठाएकै हौ, अमेरिकामा सामान्य हल रेस्टुरेन्ट मात्र होइन अत्याधुनिक हलमा पनि कार्यक्रम गर्न सक्छौ भन्ने सन्देश दिन खोजेका हौ।’
उनले कार्यक्रम सुरु हुनु बिस दिन अगाडि नै आधा भन्दा बढी टिकट बिक्री भइसकेको बताए। ‘डिसी मेट्रो क्षेत्रमा बस्ने नेपालीहरूका लागि यो एउटा अवसर पनि हो यो स्तरको कार्यक्रममा भाग लिन पाउने।’
अभिजितले समुदायले आफुहरुको कार्यक्रममा सफल पर्न सहयोग गर्ने अपेक्षा पनि गरे।
गायक सज्जन आफ्नो ब्यान्ड सहित पहिलो पटक अमेरिकामा साङ्गीतिक भ्रमणमा आउन लागेका हुन्।
अभिजितका अनुसार टिकट अनलाइनमा पनि खरिद गर्न सकिने छ। टिकटका लागि यहाँ क्लिक गर्न सक्नु हुने छ।















