‘विज्ञान र प्रविधिको विकासका लागि सरकार दृढ छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकासका लागि सरकार दृढ रहेको बताएका छन् ।
वुधवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारका आफ्नै बाध्यता भएपनि ति बाध्यताका नाममा विज्ञान र प्रविधिको विकासमा पछि हट्ने छुट नरहेको बताएका हुन् ।
‘नेपाल सरकारले तपाईले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सकेको छैन । त्यो कुराको हेक्का पनि मलाई छ । सरकारका बाध्यता हुन्छन् तर, ति बाध्यताका नाममा विज्ञान र प्रविधिको विकासमा पछि हट्न हुँदैन भन्ने मेरो विश्वास छ ।’ उनले भने, ‘म आफैं पनि विज्ञानको विद्यार्थी हुनाको नाताले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरु मैले राम्रोसँग महसुस गरेको छु ।’
विज्ञान तथा प्रविधिको विकासका लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गरि चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेको स्मरण गराउँदै उनले प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान युवाहरुलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौकामा थप अभिवृद्धि हुने विश्वास दिलाए ।
उनले भने, ‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ । केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ ।‘
नाष्टको प्रविधि भवन र वायोमेडिकल रिसर्च ल्याब्रोटरीको भवन उद्घाटन गरेका प्रधानमन्त्री प्रचण्डले जनशक्ति, साधन, स्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुने उनको भनाई थियो ।
नाष्टप्रति जनताको अपेक्षा बढि नै रहेको बताउँदै उनले यँहा सञ्चाल हुने कार्यक्रमहरुको स्तर बढाउन सरकार दृढ रहेको समेत उल्लेख गरे ।

सम्बोधनको पूर्णपाठ
आज फेरि म नास्टको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उपस्थित भएर केही समय वैज्ञानिक अनुभूतिको क्षणको रुपमा समय बिताउन पाउँदा मलाई खुशी लागेको छ।
यस अवसरमा नास्टको वार्षिकोत्सव कार्यक्रममा पुरस्कृत हुनुभएकोमा सम्पूर्ण वैज्ञानिक प्राविधिज्ञहरूमा हार्दिक बधाइ व्यक्त गर्दछु।
मैले तपाईहरूको विज्ञान तथा प्रविधिको क्षेत्रमा दिनुभएको योगदानको बारेमा सर्सति हेर्ने मौका पाएँ। मलाई अत्यन्त खुशी लाग्यो। हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आएको रहेछ। भलै नेपाल सरकारले तपाईहरूले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सकेका छैनौं। सरकारका पनि विभिन्न बाध्यताहरू हुँदा रहेछन्। यसमा तपाईहरूले बुझिदिनुभएकै छ। म आफै पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू म राम्रोसँग बुझ्दछु।
भर्खरै मैले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवन उद्घाटन गरें। मलाई विश्वास छ यी अनुसन्धान र प्रविधि केन्द्रहरूबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान परीक्षणहरू हुने वातावरण सिर्जना हुँदै जानेछन्।
विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ।
जनताको अपेक्षा नास्टप्रति बढी रहेको छ। यसर्थ यहाँ सञ्चालन हुने कार्यक्रमहरूको स्तरीयताका बारेमा टिकाटिप्पणी हुनु तपाईहरूको लागि पृष्ठपोषण हुने मैले ठान्दछु।
आगामी सोह्रौं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा के कस्ता कार्यक्रमहरू समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ जस्तो मलाई लाग्दछ। देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु। अहिलेको अवस्था भनेको सहकार्य र समभावको हो न कि एकांकी भएर गन्तव्य पुग्न कठिन हुने राजनीतिक लगायत अन्य उदाहरणहरू हामीसँग धेरै रहेका छन्।
अन्तमा, पुन एकपटक सबै पुरस्कृत महानुभावहरूमा हार्दिक बधाइ व्यक्त गर्दै ४१ औं वार्षिकोत्सवको सफलताको शुभेच्छासहित विदा हुन्छु। धन्यवाद।