एनआरएन बद्री समूहले निर्वाचन छानविनका लागि अन्तराष्ट्रिय कम्पनी खोज्न विशेष समिति बनायो
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएन डा. वद्री केसी समूहले जाजरकोट भूकम्पका बेला १ करोड ३० लाख राहत रकम संकलन भएको जनाएको छ । केसीको अध्यक्षतामा आइतबार बसेको बैठकमा १ करोड ३० लाख रकम संकलन भएको जनाइएको हो ।
जसमा १० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको र ५३ लाखको राहत सामग्री वितरण गरिएको पनि जनाइएको छ । यसैगरी बाँकी रकम भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माणामा नेपाल सरकारसँग समन्व्य गरेर एकद्वार प्रणालीमार्फत परिचालन गर्ने निर्णय पनि गरिएको बैठक पछि सोमबार प्रवक्ता फणिन्द्र पन्तले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसैगरी अक्टोबर १९ मा भएको निर्वाचनको छानविनका लागि समिति पनि गठन गरेको छ ।
९४ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकका निर्णयहरु
गैर आवासीय नेपाली संघकोे मिति २६ नोभम्बर २०२३ मा अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पूर्ण बैठकले निम्न संस्थागत तथा विभिन्न समसामयिक विषय–वस्तुहरुमा बृहत् छलफल गरे पश्चात निम्नानुसार निर्णयहरु गरिएको छ ।
१) नेपालको जाजरकोट तथा रुकुम पश्चिम लगायतका स्थानमा गएको भूकम्प प्रभावितलाई सहयोग, राहत तथा पुननिर्माणमा एनआरएनएको भूमिका सम्बन्धमा
क) राहत तथा आर्थिक सहयोग आपतकालीन उद्दार अन्तर्गत संघले तत् समय १ करोड १० लाख घोषणा गरी सुरु गरेको अभियानमा रु १ करोड ३० लाख राहत संकलन भएको छ । जसमध्ये १० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको र करिब रु ५३ लाख राहत सामग्री बाँडिएको जानकारी बैठकमार्फत गराइएको छ ।
ख) भूकम्पमा पुनःनिर्माणमा समन्वय तथा सहकार्य सम्बन्धमा :
भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणमा नेपाल सरकारसँग सहकार्य र समन्वय गर्ने निर्णय गरिएको छ । साथै विश्वभरबाट उठेको रकम एकद्धार नीति अवलम्वन गर्दै संघमार्फत एकीकृत रुपमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।
२) संवेदनशील अवस्थामा मानवीय सहयोग सम्बन्धमा
क) पोर्चुगलमा भएको आपराधिक आक्रमणबाट निधन भएका धनबहादुर क्षेत्रीको परिवारप्रति संघको तर्फबाट दुख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ र मृतकका परिवारलाई तत्काल रु २ लाखको सहयोग गर्ने निर्णय बैठकले गरेको छ।
यसका साथै विदेशमा घटीरहेका यस किसिमका हत्या, आत्महत्या तथा विविध कारण हुने मृत्युका घटनाप्रति संवेदनशील भई संघको वैदेशिक रोजगार कल्याणकारी राहत कोष अन्तर्गत रहेको कोषबाट नियमित सहयोग जारी राख्ने तथा नेपाल सरकारका बैदेशिक रोजगारी सम्बन्धि निकायहरुसँग समन्वय गरी यस्ता खाले घटना सम्बन्धमा चेतनाामुलक कार्यक्रमहरु सञ्चालन गर्न सहकार्य गर्ने निर्णय भएको छ । उक्त कार्यका लागि क्षेत्रीय संयोजकहरुमार्फत गन्तव्य मुलुकस्थित नेपाल सरकारका कूटनीतिक निकायहरुसँगलाई पनि सहभागी गराई सहकार्य र समन्वय गर्ने निर्णय भयो । साथै, एनसीसीको सहभागितामा विदेशमा रहेका नेपालीको आपत विपद्मा तत्काल सहयोग गर्न सकिने संरचना बनाउन पहल गर्ने निर्णय बैठकबाट भयो ।
ख) युएईमा आत्महत्या गरेकी सरिता पहरीको पार्थिव शरीर नेपाल ल्याउन संघको महिला विभागको पहलमा रु ९० हजार उपलब्ध गरिएको र उक्त कार्यका लागि त्यहाँस्थित कूटनीतिक निकायसँग समन्वय गर्न सहयोग गर्नुहुने एनसीसी युएईका अध्यक्ष विकास शाहीले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरियो ।
३) गैरआवासीय नेपाली नागरिकता सम्बन्धी जानकारी दिन हेल्प डेस्क स्थापना सम्बन्धमा
विदेशमा बस्ने नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिँदा आवश्यक पर्ने प्रशासनिक तथा कानूनी परामर्श लगायतका सल्लाह, सुझाव प्रदान गर्नुका साथै आवश्यक सहजीकरणका लागि गैरआवासीय नेपाली संघ अन्तर्गतको सामाजिक कल्याण विभागमार्फत विशेष डेस्क सञ्चालन गरिएको जानकारी बैठकमार्फत सम्पूर्णमा गराइएको छ । संघका उपाध्यक्ष एवं सामाजिक कल्याण विभागका प्रमुख रामशरण सिम्खडा र सचिव स्वतन्त्र प्रताप शाहको नेतृत्वमा सञ्चालन हुने डेस्कमार्फत गैरआवासीय नेपाली नागरिकता लिने क्रममा आवश्यक पर्ने कागजात, प्रमाण लगायतका विषयवस्तु सम्बन्धमा विदेशमा बस्ने नेपालीहरुलाई जानकारी दिने र आवश्यक सहजीकरण गरिनेछ ।
४) विभाग विस्तार सम्बन्धमा
क) बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संगठन विस्तारको लागि ३६ वटा समिति गठन गरेको छ । बैठकले ती समिति मध्य केहीमा संयोजक समेत तोकेको छ । जसमध्ये १ सय मिलियन फण्ड परियोजनाको संयोजकमा डा. बद्री केसी, स्मार्ट एनआरएनएको संयोजकमा गौरीराज जोशी, मिडिया समितिको संयोजकमा फणिन्द्र पन्त, सामाजिक साझेदारी समिति संयोजकमा सुदन थापा, लेखापरीक्षण समितिको संयोजकमा इन्द्र लामा, एक एनसीसी एक परियोजनाको संयोजकमा डा. हेम राज शर्मा, पर्यटन प्रवद्र्धन समितिको संयोजकमा सोम सापकोटा, भाषा तथा साहित्य समितिको संयोजकमा भिमकमल केसी, संस्कृति र सम्पदा समिति संयोजकमा प्रविन गुरुङ्गलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै, वैदेशिक रोजगार राहत कोष समिति संयोजकमा राज रेग्मी, सामाजिक सुरक्षा कोष समितिको संयोजकमा मनोज श्रेष्ठ, व्यापार र लगानी प्रवद्र्धन समितिको संयोजकमा डा. केशव पौडेल, कृषि समितिको संयोजकमा प्रो.जगदिश तिमल्सीना, नेपाल विज्ञान प्रतिष्ठानको संयोजकमा डा. राजु अधिकारी, नेपाली नागरिकता निरन्तरता समितिको संयोजकमा रामशरण सिमखडालाई जिम्मेवारी तोकिएको छ ।
बैठकले पिएनओको संयोजकमा कुमार कार्की, भूपूगोर्खा कल्याणकारी समितिको संयोजकमा चन्द्र गुरुङ,महिला कल्याण कोष समितिको संयोजकमा रोजिना प्रधान राई, महिला उद्यमशीलता समितिको संयोजकमा अमृता थापा, सडक बालबालिका समितिको संयोजकमा टिका गुरुङ (राधिका), महिला सशक्तिकरण समितिको संयोजकमा अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै, अनुशासन समिति, संविधान व्याख्या समिति, संविधान संशोधन समिति, पर्यवेक्षण समिति, अनुगमन र मूल्याङ्कन समिति, एक प्रदेश एक मोबाइल ब्लड बस परियोजना, बाल शिक्षा सहयोग समिति, विपद् व्यवस्थापन समिति, वैदेशिक रोजगार समिति, विदेशमा नेपाली सामान प्रवद्र्धन समिति, मताधिकार समिति, एनआरएनए ग्लोवल नेपाली डायस्पोरा एकता समिति, खेलकुद एकेडेमी, दोस्रो पुस्ता र युवा परिचालन समिति, विद्यार्थी तथा युवा उद्यमशीलता समितिको संयोजक क्रमशः तोकिनेछ । डिसेम्बर २०२३ भित्र विधानले व्यवस्था गरेको सम्पूर्ण मनोनयन नियुक्ति गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय भएको छ ।
ख) जनवरी २१, २२ मा नेपालमा बृहत् बैठक ‘फेस टु फेस’ को आयोजना गर्दै संघको आगामी दुई वर्षे योजना बनाउने तथा २०५० एण्ड बियोंड भिजन अघि सारिने निर्णय भएको छ । त्यसैगरी हाल संघको केन्द्र, क्षेत्र र राष्ट्रिय समन्वय परिषद्को राम्रो समन्वयको लागि ६ वटै क्षेत्रमा क्षेत्रीय समन्वय समितिले एनसीसीको सहभागितामा कार्यसमितिको बृहत् क्षेत्रीय छलफल र बैठक आवहन गर्ने निर्णय भएको छ ।
५) दोश्रो तथा युवा पुस्तालाई प्रोत्साहन सम्बन्धमा
खेल क्षेत्रमा उदयमान दोश्रो तथा युवा पुस्तालाई प्रोत्साहन गर्न बैठकले महत्वपूर्ण निर्णय गरेको छ । पोर्चुगल निवासी निशान हमाल नेपालको राष्ट्रिय टिममा छनोट भएकोमा बैठकले बधाई ज्ञापन गर्दै तथा खुशी व्यक्त गरेकोे छ । यस्तै, माल्टा निवासी सुरज दराइ, माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा र सुष्मा दाहाल, ज्योति न्यौपाने र प्रतिभा भण्डारी माल्टाको महिला राष्ट्रिय क्रिकेट टिममा छनोट भएकोमा प्रोत्साहन स्वरुप जनही रु १ लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।
यसका साथै, बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय टी–२० मा छनोट भएकोमा राष्ट्रिय टिमलाई बधाई ज्ञापन गर्दै खेलाडीहरुको सम्मानको लागि संघको तर्फबाट रु १० लाख सहितले सम्मान गर्ने निर्णय गरेको छ ।
६) निर्वाचनको प्राविधिक अडिट सम्बन्धमा
गत अक्टोबर २०२३ मा सम्पन्न निर्वाचनको प्राविधिक पाटो लगायत अनलाइन भोटिंगको विस्तृत आइटी अडिट गर्ने र त्यसको लागि अन्तर्रािष्ट्रय कम्पनीको छनोट तथा समन्वय गर्न ११ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय भएको छ । उक्त समितिले अडिटका लागि छनोट गरिने कम्पनीले गर्नुपर्ने कामको Terms and conditionsतयार गर्ने निर्णय गरिएको छ । उक्त समितिमा उपाध्यक्षहरु डा हेमराज शर्मा , राज रेग्मी , रोजिना प्रधान राई, महासचिव गौरी राज जोशी, उप महासचिव सोम सापकोटासहित ६ वटा क्षेत्रका क्षेत्रीय संयोजकहरु डा चिरञ्जीवि खड्का (युरोप), वेद बस्नेत (अमेरिका), हरि भट्टराई (एसिया प्यासेफिक) पुष्पराज भट्टराई (अफ्रिका, राजेन्द्र अर्याल (मध्ये पुर्व), दिनेश पोखरेल (वोसेनिया) रहने निर्णय गरिएको छ ।
७) सपथ ग्रहण सम्बन्धमा
संस्थामा विभिन्न पदमा निर्वाचित तथा मनोनित भई सपथ लिन बाँकी सदस्यहरुको सपथ ग्रहण अन्तराष्ट्रिय समन्वय परिषद्को बैठकमार्फत सम्पन्न भएको छ । यो प्रक्रियालाई निश्चित समयसम्म मात्रको लागि कायम राखी सबैलाई संस्थाप्रति उत्तरदायी बनाउने निर्णय भएको छ ।
बैठकको पूर्ण जानकारी विस्तृत विवरण सहित माइनुटमा अभिलेखिकरण गरिनेछ । साथै संस्थाका सबै निकायलाई समयमै इमेलमार्फत पनि उपलब्ध गराउने जानकारी गराइन्छ । धन्यवाद ।
फणिन्द्र पन्त
प्रवक्ता
अन्तराष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ
मिति : २६ नोभेम्बर २०२३












