अप्ठ्यारो परे सरकारमा सहभागी हुन सकिन्छ : रास्वपा सभापति लामिछाने
|
Getting your Trinity Audio player ready...
|
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन सक्ने बताएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे ।
तर एउटा राजनीतिक दल भएकाले मुलकलाई ज्यादै अप्ठ्यारो प¥यो वा परिस्थिति सिर्जना भयो र आवश्यकता परेको खण्डमा रास्वपा सरकारमा सहभागी हुन सक्ने उनले बताए ।
रास्वपा अहिले सदनमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै उनले अहिले आफनो जिम्मेवारी र भूमिका असाध्यै धेरै रहेको जिकिर गरे ।
अर्थतन्त्र चलायमान बनाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार दलहरुका नेता र निजी क्षेत्रका अगुवासहितको बैठक गरेका थिए । लामिछानेले सञ्चारकर्मीसँग उक्त बैठकप्रति असन्तुष्टि व्यक्त गरे । सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको उनले बताए । अर्थतन्त्र बलियो हुने आधारको खोजी नगरिएकाले खाली देखावटी रुपमा बैठक बोलाइएको टिप्पणी उनले गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी देश र मधेसको भविष्य फेर्न तयारीको साथ मधेसमा आएको दाबी उनले गरे । वर्र्षौदेखि विभेदमा परेको मधेसमा विशेष तयारी गरी आफू एक हप्ताको कार्यक्रमअन्तर्गत आएको बताउँदै लामिछानेले मधेसमै पार्टीको विशेष बैठक पनि राखेको जानकारी दिए ।
काठमाडौंमा भइरहेको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद रहेको टिप्पणी उनले गरे । धेरै दलहरु मिलेर बनेको शक्तिशाली सरकार आन्दोलनसँग डराउदै धरपकडमा उत्रिएको घटना लज्जास्पद भएको उनले बताए ।








