भौतिक मन्त्री ज्वाला सडक मर्मतको अवस्था अवलोकनमा
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उपत्कायका घनावस्ती क्षेत्रको सडकको अवलोकन गरेको छन् ।
शुक्रबार मन्त्री ज्वालासहित मन्त्रालयका उच्च अधिकारी, सडक विभागका महानिर्देशक सुनिलबाबु ढकाल, सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायणदक्त भण्डारीको टोलीले उपत्यका सडकहरुको अनुगमन गरेका हुन् । मन्त्री ज्वालाले गत असोज १७ गते आफ्नो क्षेत्राधिकारभित्र गर्ने उपत्यकाका सडकलाई खाल्डाखुल्डी मुक्त बनाउन निर्देशन दिएका थिए ।
निर्देशनपछि सुधारको अवस्थाबारे फिल्डमै पुगेको जानकारी लिएको मन्त्री ज्वालाले जानकारी दिए । उनले मर्मतका कार्य सन्तोषजनक रुपमा अघि बढेको आफूले पाएको बताए । शुक्रबार मन्त्रीसहितको टोलीले महाराजगञ्ज बुढानीलकण्ड, बालाजु बाइपास, कलंकी महाराजगञ्ज सडकको अनुगमन गरेको छ ।
बालाजु बाइपासको अन्यत्र सडक राम्रो अवस्थामा भए पनि बाइपासको चोकमा किरब ४० मिटर सडक विवादका कारण पिच नहुँदा आफूहरु धुलोबाट आक्रान्त भएको स्थानीयले गुनासो गरे । उनीहरुले विवाद चाँडो भन्दा चाँडो समाधान गरेर सडकमा कालोपत्रे गर्न माग गरेका थिए । त्यस्तै मन्त्री ज्वालाले माछापोखरी मुड्खु, सामाखुशी ग्राण्डी अस्पताल सडक, गल्कोपाखा सामाखुशी सडकको सुधारको अवस्थाबारे पनि जानकारी लिएको छ । भौतिक मन्त्रालयले उपत्यकाका सडकलाई चुस्त राख्न मातहतका निकायलाई निरन्तर निर्देशन दिँदै आएको जनाएको छ ।














