संयुक्त राष्ट्र संघका महासचिव किन आउँदैछन् नेपाल?

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुग्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल आउन लागेका उनले चार दिनको बसाईमा विभिन्न भेटवार्ता गर्नुका साथ नेपालको संघीय संसदलाई पनि सम्वोधन गर्ने कार्यतालिका रहेको छ । यसअघि राष्ट्रसङ्घीय सचिवालयले असोजमा भ्रमण हुनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर, त्यतिबेला प्यालेस्टाइनको हमास समूहले इजरायलमा आक्रमणपछि महासचिव गुटेरेसको भ्रमण स्थगित भएको थियो ।
महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । त्यस्तै जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत छलफल हुने छ ।
यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपालको भ्रमण गरेका थिए । महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहेका उनी पछिल्लोपटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेसको भ्रमण हुन लागेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।
महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने छन् भने पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत उहाँले भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दबै सदनलाई यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसले पाटन दरबार स्क्वाएर क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प (एबीसी) र लुम्बिनीको पनि भ्रमण गर्ने छन् ।