ह्यारिसबर्गमा कालीप्रसाद र इन्दिराको प्रस्तुति: दर्शक खुसी, आयोजक उत्साहित

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ वर्तमानमा नेपाली सङ्गीतका चर्चित हस्तीहरू गायक कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले अमेरिकाको पेन्सल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा प्रस्तुति दिएका छन्।
एके इभेन्ट र इनास अमेरिका पेन्सिल्भेनिया च्याप्टरले आइतबार आयोजना गरेको ‘दसै आयो’ साङ्गीतिक इभेन्ट कालीप्रसाद र इन्दिराले प्रस्तुति दिएका हुन्।
यी दुवै जना ‘नेपाली आइडल’ निर्णायक भए पछि झन् चर्चामा छन्।
ह्यारिसबर्गको मिडटाउनमा मध्यरातको झन्डै आधा घण्टा कालीप्रसादले दर्शकहरूलाई निरन्तर नचाए। हँसिलो स्वभावका कालीप्रसादले आफ्ना नयाँ पुराना गीत गाएका थिए।
त्यस अगाडि कम्ब्याट कलरको टाइट पोसाकमा सजिएकी इन्दिराले पनि दर्शकलाई उत्तिकै खुसी बनाएकी थिए।
इन्दिराले बेला बेलामा आफू पनि नाच्दै दर्शकलाई पनि नचाएकी थिइन्। कालीप्रसाद र इन्दिरा अगाडि स्थानीय कलाकारले प्रस्तुति दिएका थिए।
गायक वीरेन रसाइली, पवन बुर्लाकोटी, प्रकाश मगर, सरोज बर्देवाले प्रस्तुति दिएका थिए।
यस्तै ब्लुमिङ लोटस डान्स स्टुडियो, रेड ओशन मल्टी, एकेडेमी, नृत्य ताराका तर्फका विद्यार्थी र सरोज तामाङले आकर्षक सामूहिक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको ल्यानक्यास्टरका अस्मिता गौतम, विजेता धिमाल, गीता गौतम र क्रिष्टिना पाठकले उद्घाटन नृत्य प्रस्तुत गरेका थिए। यी मध्ये अस्मिता र विजेता अमेरिकन सेनामा कार्यरत छन्।उनीहरुले आर्मी पोशाकमै नृत्य गरेका थिए
कार्यक्रममा इनास पेन्सिल्भेनियाका अध्यक्ष तथा रेड ओसिएन मल्टी एकेडेमीका विकास घले गुरुङ र उनको विद्यार्थी रेजिना सुब्बाले पनि प्रस्तुति दिएका थिए। रेजिना मेरो डान्स कप सिजन चार को टप टेनमा पुग्न सफल भएकी नृत्याङ्गना हुन।
इनास पेन्ल्भेनियाका उपाध्यक्ष तथा कलाकार विशाल ढुङ्गानाले रोमाञ्चक शैलीमा कार्यक्रम सञ्चालन गरेका थिए। डिजेमा नेपस्टाइल र वन्टा रहेका थिए।
उत्साहित आयोजक
कालीप्रसाद र इन्दिरा सहभागी दसैँ आयो कार्यक्रम भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भए पछि आयोजकले सन्तोषको सास फेरेका छन्।
‘हामीलाई मान्छे आउदैनन की भन्ने डर चैँ थियो, अर्को पाटो ह्यारिसबर्गमा नेपाली भाषी समुदायको कार्यक्रममा झगडा हुन्छ भन्ने चिन्ता पनि थियो।’ कार्यक्रम पछि एके इभेन्टसका कार्यकारी निर्देशक आलोक कार्कीले समाज टाइम्स सँग भने,’यो पटक डर र चिन्ता दुवै हट्यो।’
उनले प्रायोजक विना टिकट बिक्रीबाट मात्र कार्यक्रम गरिएको त्यो नाफामा गएको बताए।
‘ह्यारिसबर्गमा टिकट बिक्रीबाट मात्र कार्यक्रम गर्न सकिँदैन भन्ने थियो, त्यो भ्रम पनि अब हटेको छ।’ कार्कीले भने।
कार्कीका अनुसार एके इभेन्ट यसै वर्षको जनवरीमा स्थापना भएको हो। यो बिचमा तीन वटा कार्यक्रम सम्पन्न गरेको छ। यस अगाडि ह्यारिसबर्गमा नै एके इभेन्टले राजेश हमाल, सुगम पोखरेल र विल्सन विक्रम राईको उपस्थितिमा साङ्गीतिक कार्यक्रम गरेको थियो।
यस्तै नेभास्कामा भिटेनको कार्यक्रम पनि एके इभेन्टले नै आयोजना गरेको थियो।
‘हिजोको कार्यक्रम सोचे भन्दा राम्रो भयो।’ उत्साहित कार्कीले अर्को महिना पनि साङ्गीतिक कार्यक्रम तय भएको बताए।
‘नोभेम्बर १७ तारिख शुक्रवार अस्मिता अधिकारी र हडुलस बस्नेतको उपस्थितिमा कार्यक्रम गर्छौ त्यसको पूर्ण विवरण छिट्टै सार्वजनीक गर्छौ।’ उनले भने।
दसै आयो कार्यक्रमका थप तस्वीरहरु