रवीना थापाले गराइन् एनआरएन अध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको आसन्न ११ औं विश्वसम्मेलन तथा महाधिवेशनमा हुने नयाँ नेतृत्व चयनका लागि रवीना थापाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
मनोनयन दर्ताको अन्तिम दिन उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । १० औं अधिवेशनबाट आलोपालो ३ जना अध्यक्ष हुँदा उनी पनि अध्यक्ष भएकी थिइन् । तर, त्यतिबेला ६ महिनाको मात्रै कार्यकाल भएको र अब आफूले २ वर्षे कार्यकालका लागि उम्मेदवारी दिएको बताउने गरेकी छिन् । उम्मेदवारी दर्तापछि आफूले विगतमा गरेका कामको मूल्यांकन मतदाताले गर्ने बताइन् ।
उनले भनिन् ‘कुनैपनि देशको समृद्धि र सुदृढीकरण अन्य देशहरु सँगको मित्रता र आत्मियतामा पनि निर्भर गर्छ। त्यसैले विश्वका हरेक देश सँगको राजनीतिक, व्यापारिक तथा कुटनीतिक सम्बन्ध सुमधुर बनाउन सबैभन्दा महत्वपूर्ण अङ्ग हो, एनआरएनए नेपाल सरकार सँगको समन्वयन र सहकार्यमा नीति अनुरुप बिभिन्न योजना परियोजना तर्जुमा गर्नमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
यसअघि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वर्तमान कार्य समितिका उपमहासचिव विनय अधिकारी भने ब्याक भएका छन् । उनले रवीनालाई समर्थन गरेर उम्मेदवारी दर्ता नगरेको बताइएको छ । उम्मेदवारी दर्ताको समय सकिएको छ । तर निर्वाचन समितिले अहिलेसम्म उम्मेदवारको प्रारम्भिक सूची भने सार्वजनिक गरेको छैन ।