काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालले बंगलादेशलाई हरायो
कोलम्बो । श्रीलंकामा आजदेखि सुरु भएको काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुआत गरेको छ ।
आज भएको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशमाथि ३–१ को सेटमा जित निकालेको हो ।
पहिलो सेट २५–२० ले जितेको नेपालले दोस्रो सेट भने सोही नतिजा बंगलादेशलाई सुम्पिएपछि खेल १–१ को अवस्थामा आएको थियो । तेस्रो सेटमा बंगलादेशले कडा टक्कर दिए पछि नेपालले २५–२३ ले जित निकाल्दै अग्रता २–१ बनायो ।
चौथो सेटमा नेपालले २५–२१ को जित निकाल्दै ३–१ का साथ प्रतियोगितामा सुखद् सुरुआत गर्न सफल भयो ।
६ टोलीको सहभागितामा राउन्ड रोविन लिगका आधारमा हुने च्यालेन्ज कपको अंकतालिकामा शीर्ष २ टोलीले फाइनल खेल्ने छन् । नेपालले दोस्रो खेलमा भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ ।