अमेरिका हिँडेका दाङका युवाहरु इथियोपियामा बन्धक

काठमाडौं । अमेरिका जान भनेर हिँडेका चार नेपाली युवाहरु इथियोपियाको राजधानी आडिसबाबाको एक होटेलमा १० महिनादेखि बन्धक भएका छन् । दाङ जिल्लाका ती व्यक्तिहरुले आफ्नो परिचय भने खुलाएका छन् ।
शिलापत्र डटकमसँग भिडियो कुराकानी गरेका उनीहरुले आफूहरुलाई रुकुम स्थायी घर भइ हाल बानेश्वर मित्रनगरमा बस्ने प्रवीण गिरीले पर्यटक भिसामा अमेरिका पठाउने भन्दै जनही ३५ लाख रुपैयाँ लिएर अलपत्र पारेको बताएका छन् ।
२०७८ साउनमा नयाँ दिल्लीहुँदै दुबई पुर्याएर ७ महिना राखेको र त्यसपछि अमेरिका लैजाने शर्तमा इथियोपियाको आडिसबाबा लगेको बताए । अहिले होटेलमा बन्दीजस्तै बस्नु परेको भिडियोमा बताएका छन् । ट्वाइलेटको पानी खाएको र बल्लतल्ल एक छाक खानाको भरमा टिकिरहेको बताउँदै उद्दार गरिदिन आग्रह पनि गरेका छन् ।
एजेन्ट गिरीसँगको सम्पर्कपछि होटेलमा घरबाट पैसा मगाएर आफूहरुले १४ लाख होटेलको र प्रवेशाज्ञा नविकरणको सहित ४० लाख रुपैयाँ तिरिसकेको पीडितहरुको भनाई छ । अहिले आफूहरुसँग खाने बस्ने पैसा पनि नभएको बताउँदै होटल सञ्चालकले पनि दिनहु टर्चर गरिरहेको बताए ।