मापसे होइन लापसे गर्ने चालक नियन्त्रणमा
काठमाडौं । काठमाडौंको थलीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा ३ ख ४० ३६ नम्बरको बस चालक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ का २३ वर्षीय विक्रम तामाङ, बा २ ज ५६ ३९ नम्बरको ट्याक्सी चालक सिन्धुलीको सुनकोशी गाउँपालिका २ का २५ वर्षीय सुरज श्रेष्ठ र बा २ ज ३८ ७६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोकको चौरीदेउरासी गाउँपालिका ८ का ४३ वर्षीय उमानाथ चौलागाँईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाईएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले आज २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।
यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

















