प्रधानमन्त्री प्रचण्डले चिनियाँ कम्युनिष्ट नेता वाङ सियाओहुईलाई भेटे

Getting your Trinity Audio player ready...
|
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले चिनियाँ कम्युनिष्ट पार्टीका नेता वाङ सियाओहुईसँग भेटवार्ता गरेका छन् । छेन्दुमा उनले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वाङ सियाओहुई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी बिज्ञप्तिको स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भूपरिवेष्ठित देश होइन भू-सम्बन्ध जोड्ने देश भएको बताए ।
सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र तपाईंको नेतृत्वमा नेपाल-चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरे । नेपाल र चीन बीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताए ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल शनिबार छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ ।