नेदरल्यान्ड्समा गोली चल्दा तीन जनाको मृत्यु
रोटरडम । पछिल्लो समय युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढ्दै गएका छन् । युरोपको नेदरल्यान्ड्समा फेरि गोली चल्दा तीन जनाको मृत्यु भएको छ । घटना नेदरल्याण्डको रोटरडममा भएको हो । घटनामा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यद्यपी गोली चलाउनुको कारण भने खुल्न सकेको छैन । प्रधानमन्त्री मार्क रुटले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘गोलीबारीमा मारिएकाहरुप्रति मेरो समवेदना । पीडित कार्यस्थलका सहकर्मीहरूलाई उनीहरूको सहयोगको लागि धेरै धेरै धन्यवाद।
सञ्चारमाध्यमका अनुसार राजधानी एम्स्टर्डमबाट ८० किलोमिटर टाढा रहेको रोटरडमको एउटा फ्ल्याटमा एक बन्दुकधारीले गोली चलाएका हुन् । त्यसपछि उनी नजिकैको स्वास्थ्य केन्द्रमा पुगे । प्रहरीका अनुसार दुवै ठाउँमा आगो लागेको थियो, जुन पछि निभाइएको थियो ।
प्रहरीका अनुसार अभियुक्त एउटै व्यक्ति रहेको प्रारम्भिक रुपमा खुल्न आएको छ । अभियुक्त अस्पताल भित्र पस्नेबित्तिकै बिरामी र डाक्टरहरु भागेका थिए । सीसीटीभी क्यामेरा र प्रत्यक्षदर्शीका अनुसार अभियुक्त ३२ वर्षका छन् ।














