विदेश जाँदा कति डलर बोक्न पाइन्छ?
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित २ जना नेपाली पक्राउ परेपछि अहिले विदेश जाँदा कति डलर बोक्न पाइन्छ भन्ने सूचनाको खोजी भएको छ । ८ हजार अमेरिकी डलरसहित दुईजना पक्राउ भएपछि हामीलाई धेरै पाठकहरुले यो विषयमा जिज्ञाषा राख्नु भएको थियो । विगतमा ५ हजार अमेरिकी डलरको सटही सुविधा रहेको थियो ।
तर, पछिल्लो समय रुस युक्रेन युद्धका कारण बढ्दो आर्थिक संकटले विदेशी मुद्रा सटहीमा सरकारले कडिकडाउ गर्दै आएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि साउनमा सरकारले विदेश भ्रमणमा जाने नेपालीले दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।
भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी वापत प्रतिपटक अधिकतम अमेरिकी डलर दुई हजार पाँच सय बराबरको सटही सुविधा प्राप्त गर्नेछन् ।
त्यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गरिने उल्लेख छ । एकीकृत निर्देशन जारी भएको मितिभन्दा अगावै त्यस्तो सुविधा लिएकाले पनि चालु आवमा थप दुई पटक त्यस्तो सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम दुई सय अमेरिकी डलर बराबरको सटही सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको छ ।