पहिलो पटक पोखरा विमानस्थलबाट व्यावसायिक उडान हुँदै
पोखरा । आजबाट पोखरामा पहिलो पटक व्यावसायिक उडान सुरु हुनेछ ।
विमानस्थलका अनुसार शनिवार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ ।
दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एयरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोली नै भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीन जना सदस्य मात्र हुने छन् ।
जसअनुसार पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमानसमेत बन्ने छ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो ।
सो अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो विमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो बेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो । तर, चीनबाट चार्टर गरेर आएको सो विमान भने रित्तै फर्किएको थियो ।
नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एयरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ ।
विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलो पटक आम्दानीसमेत गर्ने छ । सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलो पटक आम्दानी गर्न लागेको हो, जुन एक लाख २६ हजार हुने कर्णले जानकारी दिए ।















