गगन थापा भन्छन् ‘अब काँग्रेसको टिकट दाइले होइन…’

सिन्धुपाल्चोक । नेपाली काँग्रेसमा संस्थापन पक्ष र इतर पक्ष भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको विषय हो । संस्थापन पक्ष भनेको सभापति शेरबहादुर देउवा र इतर पक्ष भनेको शेखर गगन समूह ।
काँग्रेसभित्र निर्णय प्रक्रियामा हरेक समय संस्थापन पक्ष हाबी भएको छ । गएको मङ्सिरमा सम्पन्न सङ्घीय चुनावमा टिकट वितरण गर्दा नै धेरै संस्थापन पक्षले टिकट पाएकाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा आफू पराजित भएकाले महामन्त्री गगनकुमार थापाले टिकट वितरण प्रक्रियालाई बदल्नु पर्ने आवाज उठाउँदै आएका छन् ।
केन्द्रीय समितिको बैठकदेखि पार्टीका विभिन्न फोरमहरूमा महामन्त्री थापाले सङ्गठन सुदृढीकरण गर्नका लागि टिकट वितरण प्रक्रिया नै सच्याउनु पर्ने बताउँदै आएका छन् । यस क्रममा महामन्त्री थापाले शुक्रवार सिन्धुपाल्चोकमा महिला सङ्घले आयोजना गरेको कार्यक्रममा टिकट वितरण अव वडा सभापतिले वितरण गर्नु पर्ने कुरामा जोड दिए ।
उनले विधानमा भएको व्यवस्था कार्यान्वयन गर्ने हो भने दाइसम्म पुग्नै नपर्ने पनि बताए । अहिले वडादेखि कै नेतृत्व माथिको भर पर्ने भएकाले सबै अधिकार दाइमा गएर सीमित हुँदा दाइले सबैभन्दा नजिकको व्यक्तिको रूपमा भाउजूलाई टिकट नदिएर कसलाई दिनुहुन्छ त? प्रश्न गरे ।
अब जुन ठाउँको टिकट वितरण गर्ने हो त्यही ठाउँका क्रियाशील सदस्यलाई मतदान गरेर टुङ्ग्याउने वातावरण बनाउनुपर्नेमा आफ्नो जोड रहेको पनि बताए ।