नागरिकता नियमावली छिटो ल्याउन सरकारलाई पीडितको दबाब

काठमाडौँ । नागरिकता विहीन सङ्घर्ष समिति नेपालले नागरिकता नियमावली छिटो बनाउन सरकारलाई दबाब दिएको छ ।
बिहीबार काठमाडौँको माइतीघरमा नागरिकताविहीन सङ्घर्ष समिति नेपालले नागरिकता नियमावली २०८० छिटो प्रकाशन गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
सङ्घर्ष समिति बनाएर लामो समयबाट अगुवाइ गर्दै आएका पीडित इन्द्र जित साफीले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको झन्डै तीन महिना पुग्न लाग्दा समेत सरकारले नियमावली नबनाएको गुनासो गरे । उनले नियमावली नबनेको कारण आमाको नामबाट नागरिकता पाउन नसकेको भन्दै दबाबका कार्यक्रम सुरु गरेको बताए ।
उनले भने, ‘विधेयकले कानुनको रूप लिएकै तीन महिना भइसक्न लाग्यो,तर अहिलेसम्म सरकारले नियमावली प्रकाशन गर्न नसकेको कारणले गर्दा आमाको नामबाट अहिलेसम्म नागरिकता पाएको छैन ।’
नागरिकता पीडित साफीले सरकारले चाँडो नियमावली नल्याए पीडितहरूको मार्च पास गराउने चेतावनी दिए ।
‘बिहीबार मन्त्रीपरिषद् बस्ने कुरा हुन्छ त्यसमा पनि नियमावली पेस भएन भने जसरी हामीले पहिला मार्च उतारेर सङ्घर्ष गरेका थियौँ,त्यही रूपमा ठुलो मार्च उतारेर सङ्घर्ष गछौं,’ उनले चेतावनी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक गत जेठ १७ गते प्रमाणीकरण गरेका थिए । ०००