एनआरएनए केन्टकी च्याप्टरको शपथग्रहण तथा बरबुझारथ सम्पन्न
केन्टकी, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्टकी च्याप्टरको शपथग्रहण, पदभार हस्तान्तरण तथा बरबुझारथ सम्पन्न भएको छ।
केन्टकी राज्यको लेजिन्टनमा आइतबार कार्यक्रमका सभापति तथा च्याप्टर अध्यक्ष सुन्दर मणि पौडेलले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।
सोही क्रममा निवर्तमान कार्यसमितिलाई धन्यवाद सहित बिदाइ गरिएको थियो।
कार्यक्रममा एनआरएनए आइसीसी अमेरिका क्षेत्रका उप संयोजक (डीआरसी) पुरुषोत्तम बोहरा, एनआरएनए अमेरिकाको अध्यक्षमा पराजित तथा निवर्तमान उपाध्यक्ष डिलु पराजुलीले नयाँ टिमलाई बधाई तथा शुभ कामना दिएका थिए।
यस्तै निवर्तमान च्याप्टर अध्यक्ष केशवराज लोहनी ,स्थानीय संस्था एन्काका नव-निर्वाचित अध्यक्ष सन्त कुवर, नास्कका अध्यक्ष बद्री दाहाल , सुदूरपश्चिम समाजका उद्धव उप्रेती, एन्टा अध्यक्ष कुशेश्वर मण्डल र एनआरएनए अभियन्ता साम्वा लामिछाने लगायतले नवनिर्वाचित टिमलाई शुभकामना दिएका थिए।
केन्टकी च्याप्टरका उपाध्यक्ष शरदबाबु ढकालले स्वागत मन्तव्य दिएको कार्यक्रममा ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो। च्याप्टर सचिव राम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।












