गौर हत्याका पीडितको न्यायका लागि ‘हेग’ जान्छौ : प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका पीडितहरूले नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत (हेग) जाने चेतावनी दिएका छन् ।
सोमबार काठमाडौँमा आयोजित पार्टी केन्द्रीय कमिटी बैठकपछि देशको समसामयिक विषयमा पार्टीको धारणा राख्ने क्रममा साहले गौर हत्याकाण्डका दोषीमाथि कारबाही नभए न्यायका लागि पीडितहरूलाई लिएर हेग जाने चेतावनी दिएका हुन् ।
उनले पीडित सङ्घर्ष समितिसँग भएको पाँच बुँदे सहमतिबाट सरकार पछि हटेको भन्दै कानुनको नभएर कुर्चीको शासनमा सरकार तल्लीन भएको आरोप लगाए ।
उनले भने, ‘गौर हत्याकाण्डमा मुद्दा दर्ता भएकै १७ वर्ष भैसकेको छ ।दुनियाँले बुझ्छन् मुद्दा दर्ता भएपछि अब प्रोसेसमा जान्छ । १७ वर्ष अगाडि मुद्दा दर्ता भैसकेको छ तर,कानुन लाग्दैन ।सरकारले भन्छ हामी छानबिन गर्छौ,तर कुर्ची हल्लिने भएपछि भन्छ केही दिन रोक्नुपर्छ ।यसलाई लटरपटर गर्नुपर्छ केही गर्नु हुँदैन,के यो कानुनको शासन हो ? कुर्चीको शासन भन्ने कि कानुनको शासन भन्ने कि कुर्चीको लागि बनेको भन्ने प्रश्न आउँछ ।’
उनले गौर हत्या काण्डमा पनि कानुनको शासनको खिल्ली उडाउने काम भइरहेको भन्दै गौर हत्यामा नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिए।
‘गौर हत्याकाण्डको विषयमा यदि सरकारले यसरी नै सक्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरू चुप लागेर बस्दैन ।’ उनले भने ‘हाम्रो पार्टी चुप लागेर बस्दैन। यदि पीडितहरूले नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत हेग जान्छौँ ।यो चेतावनी दिन चाहन्छु,’ ।