नो भोटको व्यवस्था गर्दैछौ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको लागि तयार पारिएको कानुनमा नो भोट (कसैलाई भोट हाल्दिन) भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था रहेको बताएका छन् ।
निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरणको ऐन बारे छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कसैलाई भोट हाल्दिन भन्ने व्यवस्था गरेको र कूल मतको ५० प्रतिशतभन्दा बढी मत आयो भने निर्वाचन रद्द हुने व्यवस्था रहेको पनि बताए ।
यसको साथै उनले, उक्त निर्वाचनका उम्मेदवारले अर्को पटक उम्मेदवारी दिन नपाउने नयाँ खालको व्यवस्था पनि आएको जानकारी गराएका छन् ।
उनले भने, नेपाल कानुन समाजद्वारा निर्वाचन आयोगको लागि तयार पारिएको निर्वाचन सम्बन्धी कानुनमा कोही व्यक्तिलाई कसैलाई पनि भोट हाल्न मन नभए मतपत्रमा म कसैलाई भोट हाल्दिन भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था गरेका छौ । त्यो म कसैलाई भोट हाल्दिन भन्ने मतमा कूल मतको ५० प्रतिशतभन्दा बढी भयो भने त्यो निर्वाचन रद्द हुन्छ र त्यति बेला उम्मेदवार भएको मानिसहरूले पुनः उम्मेदवारी दिन सक्दैन किनभने उनीहरूलाई जनताले अस्वीकार गरिसकेको हुन्छ । यो व्यवस्था पनि राखेका छौ । ’
प्रमुख आयुक्त थपलियाले ऐनलाई लागू गरेर ०८४ को निर्वाचनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको भन्दै निर्वाचन सजिलो, सरल र निष्पक्षताका साथ सम्पन्न गर्न पनि पहल गरेको बताए ।
निर्वाचन प्रणालीलाई सुधार गर्नको लागि सञ्चार माध्यमको पनि सकारात्मक हस्तक्षेप आवश्यक भएको भन्दै निर्वाचन सम्बन्धी कानुनलाई आम चर्चाको विषय बनाउन पनि थपलियाले आग्रह गरे ।
उनले भने, निर्वाचन शासकीय प्रणालीमा परिवर्तन गर्ने हो भने निर्वाचनको व्यवस्थापनमा सुधार हुनुपर्छ । निर्वाचन गतिलो भयो भने मात्रै र निर्वाचनमा सदाचारिता कायम गर्न सक्यो भने मात्रै हामीले खोजेको सुशासन प्राप्त हुन सक्छ भन्ने उद्देश्यका साथ यो ऐनको मस्यौदा तयार गरेर पेस गरेका छौ । त्यस कारण यसलाई छिटो पारित गर्नको लागि सकारात्मक हस्तक्षेपको चाहियो, त्यो हामी तर्फ पनि केन्द्रित भए हुन्छ । निर्वाचन सम्बन्धी कानुनलाई आम चर्चाको विषय बनाई दिनु हुन पनि आग्रह छ । ’
निर्वाचन लोकतन्त्रको आधार स्तम्भ र प्राण वायु भएको चर्चा गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको आवधिक अभ्यासबाट नै कनै पनि मुलुकको लोकतन्त्र सुदृढ हुने बताए ।