सांसद बास्कोटा प्रश्न : कुन शक्तिकेन्द्रको रिमोटबाट देश चलेको छ ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुन शक्तिकेन्द्रको रिमोटबाट देश चलेको छ भन्दै प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद बास्कोटाले मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देश कहाँबाट चलेको छ भन्ने प्रश्न गरे । उनले कार्यकारी प्रमुख भएपछि त्यसको जवाफ प्रधानमन्त्री दाहालले दिनुपर्ने बताए।
भने, ‘एउटा अनौठो कुरा देखियो, १२ भाइ हो कि १७ भाइ हो, मूलधारे मिडियाका सम्पादकहरुसित प्रधानमन्त्रीले एउटा मिटिङ गरेको सुनियो र उहाँहरुले नै जानकारी गराएअनुसार खै के भइरहेको छ, कसले गरिरहेको छ, कहाँबाट प्ले भइरहेको छ मलाई थाहा छैन भन्ने प्रधानमन्त्रीको भनाइ हो, मिडियाबाट उद्धृत भएको । तर, म सोध्न चाहन्छु, देशको कार्यकारी को ? त्यस्तो भन्न मिल्छ कि मिल्दैन ? यो जवाफ दिनुपर्छ कि पर्दैन ? कहाँबाट चल्या छ ? त्यसो भए कुन शक्तिकेन्द्रले कुन रिमोटबाट देश चलाएको छ ? त्यसको जवाफ चाहियो नि !’
सांसद बास्कोटाले अहिलेको सरकारलाई ओभरनाईट सत्ता परिवर्तन सज्ञा दिँदै जनताको विश्वासको जगमा उठेको पार्टीको नेतालाई अपमान गर्ने दुस्साहस नगरोस् भन्दै चेतावनी दिए । उनले भने,कहिले कोसँग टास्सिएर कहिँले कोसँग साटिएर ओभरनाईट सत्ता परिवर्तन गर्नेले जनताको विश्वासको जगमा उठेको पार्टीको नेतालाई अपमान गर्ने दुस्साहस चाँहि नगरोस् चुनौती र चेतावनी दुईवटै दिन चाहन्छु ।