एनआरएनए अध्यक्ष कुल आचार्यले प्रेम गाहा मगर विरुद्ध बेलायतमा मुद्दा हाल्ने

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यले प्रेम गहा मगर विरुद्ध कानुनी प्रक्रियामा जाने बताएका छन्।
एनआरएनए बेलायतका पूर्व अध्यक्ष मगरले पछिल्ला केही महिना देखि आचार्यलाई विभिन्न आरोपहरू लगाउँदै आएका छन्।
एनआरएनए राजनीतिमा एउटै कित्तामा रहेका आचार्य र मगरको सम्बन्ध ‘कलिङ्ग काठमाडौँ’ अभियान टुटे सँगै बिग्रिएको हो।
आचार्य समुहले ‘कलिङ्ग काठमाडौँ’ नारा दिँदै संस्थापन पक्ष बिरुद्ध मोर्चा बनाएको थियो। त्यो मोर्चालाई एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको समर्थन थियो। तर अन्तिम समयमा आचार्य सहितका व्यक्ति घलेलाई छोडेर संस्थापन पक्ष सँग सहमति गर्न पुगेको थियो।
सोही सहमति अनुसार संस्थापन पक्षमा तीन-तीन अध्यक्ष सहित जम्बो टिम बनेको थियो । घलेले पनि विनोद कुँवरको अध्यक्षमा अर्को कमिटी बनाएका थिए। मगर अहिले कुँवर कमिटी अन्तर्गत बेलायतको अध्यक्ष छन्।
एनआरएनएको दशौँ महाधिवेशन पछि मगरले आचार्यलाई विभिन्न आरोपहरू लगाउँदै आएका छन् जसमा केही गम्भीर प्रवृत्तिका छन्।
यस अगाडि मौन बस्दै आएका आचार्यले केही समय अगाडि सामाजिक सञ्जाल मार्फत आफू कानुनी उपचारमा जाने बताएका हुन्।
फेसबुक स्टाटसमा आचार्यले मगरको नाम भने उल्लेख गरेका छैनन्। समाज टाइम्स सँगको कुराकानीमा उनले यस अगाडि रच्छानलाई नचलाउन भन्ने लागेर मौन बसेको तर अव अति भएको प्रतिक्रिया दिए।
‘त्यस्तो मान्छेको के नाम लिनु भनेर नलेखेको हो, ठुलो रुखमा अलि बढी हावा लाग्छ भन्ने थियो तर अब सीमा नाघ्यो भोलीमा प्रक्रियामा जान्छु।’ समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा आचार्यले भने।
उनले आफूले बेलायतमै कानुनी उपचार खोज्ने बताए। मगर सेवा निवृत्त बेलायती सेना हुन्।