विनीता र डेकले ग्लोबल ओपन कुक्किवान कप खेलाउने
पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाका विनीता पुरी राई र डेक दर्जीले ग्लोबल ओपन कुक्किवान कपमा रेफ्रिको भूमिका निभाउने भएका छन्।
कुक्किवान कप सेप्टेम्बर २९ र ३० तारिख नर्थ क्यारोलाइना हुँदै छ। प्रतियोगिताका लागि ३४ अन्तर्राष्ट्रिय रेफ्री र २४ राष्ट्रिय रेफ्रीहरू छनौट भएका छ। जसमा नेपाली भाषी भुटानी समुदायबाट दुई जना परेका हुन्।
‘रेफ्रिका लागि खुल्ला आह्वान भएको थियो, हामीले फारम भरेका थियौ म र विनीता छनौट भयौ।’ दर्जीले समाज टाइम्स सँग भने।
दर्जीले मेकानिक्सबर्गमा हिमालयन तेक्वान्दो-२ सञ्चालनमा ल्याएका छन्।
यस्तै ह्यारिसबर्गमा रहेको युनाइटेड एभरेस्ट तेक्वान्दो एकेडेमीकी सञ्चालिका तथा प्रशिक्षक विनीता पुरी राईले दोस्रो पटक कुक्किवान कप खेलाउन पाउँदा खुसी लागेको बताइन्।
कुक्किवान विश्व तेक्वान्दोको हेडक्वाटर हो। यो दक्षिणा कोरियामा रहेको छ। पछिल्ला केही वर्ष यता अमेरिकामा पनि ग्लोबल कुक्किवानको नाममा प्रतियोगिता हुँदै आएको छ।
सन् २०२० मा भर्जिनियामा यो प्रतियोगिता भएको थियो।
मेरील्याण्ड स्थित एभरेस्ट वल्ड क्लास तेक्वान्दो स्कूलका अध्यक्ष तथा प्रमुख प्रशिक्षक सिनियर मास्टर कुमार कार्कीले ग्लोबल ओपन कुक्किवान स्तरीय प्रतियोगिता भएको बताए।
‘विश्वभरीबाट धेरै खेलाडी आउछन्,ठूलै गेम हो।’ समाज टाइम्स सँग कार्कीले भने,’महोत्सवको शैलीमा प्रतियोगिता हुन्छ, एक एउटा वल्ड क्लास गेम हुन्छ।’

















