अमेरिकाको पेन्सिल्भेनियामा सम्पन्न रिलेभेण्ट कप भलिवलको उपाधि रुकुम टेक्ससलाई

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियामा सम्पन्न रिलेभेण्ट कप भलिबलको उपाधि रुकुम टेक्ससले जितेको छ। रुकुम टेक्सस नेपालको रुकुम जिल्लाबाट आई अमेरिकाको टेक्ससमा बसोबास गर्नेहरूले स्थापना गरेको भलिबल क्लब हो।
ह्यारिसबर्गमा आइतबार साँझ सम्पन्न फाइनलमा सिन्धु न्यु योर्कलाई तीन एकको सेटमा हराउँदै रुकुम टेक्ससले उपाधि जितेको हो। सिन्धु पनि नेपालको सिन्धुपाल्चोक जिल्लाबाट आई अमेरिकाको न्यु योर्कमा बसोबास गर्नेहरुले स्थापना गरेको क्लब हो।
भुट्नीज कम्युनिटी ह्यारिसबर्ग ( बीसीएच) सँगको सहकार्यमा योङ ब्लड ह्यारिसबर्गद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो। सिन्धुले दोस्रो सेट बाहेक अन्यमा आफूलाई प्रभावकारी बनाउन सकेन।
पहिलो सेट ३२-३० ले जितेको रुकुमले दोस्रो सेट भने १८-२५ ले गुमायो । त्यस पछि तेस्रो सेट २५-२० र चौथो सेट २६-२४ ले जित्दै रुकुमले उपाधि हात पार्यो। चौथो सेटमा कुनै समय २०-१० को अग्रता लिएको रुकुम झन्डै झन्डै चिप्लिएको थियो।

यस अगाडि आइतबार नै भएको सेमिफाइनलमा रुकुमले नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व खेलाडी कैलाश भट्ट प्रेरित सुदूरपश्चिम टेक्ससलाई ३-२ को सेटमा हराएको थियो। यस्तै सिन्धुले पनि नेपस्टार टेक्सस ३-२ सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो।
उपाधि सँगै रुकुम टेक्ससले आठ हजार अमेरिकी डलर नगद पायो। उप विजेता भएको सिन्धुले पाँच हजार पायो।
फाइनल खेलमा सिन्धुका उत्पल मल्ल म्यान अफ दि म्याच खेलाडी घोषित भए। यस्तै सटरमा रोशन खड्का, लिबरोमा गणेश मल्ल, बल्करमा सुदूर पश्चिम टेक्ससका कैलाश भट्ट उत्कृष्ट भए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रुकुम टेक्ससका डाइमन खड्का घोषित भए।
विजेता तथा उप विजेता टिमलाई लोअर प्याक्सटन टाउनशिप अध्यक्ष लोमैन हेनरी, लोअर प्याक्सटन टाउनशिप कमिश्नर क्रिस जुड, स्वातारा टाउनशिप अध्यक्ष क्रिस्टिन जुबेक, कमिश्नर जेफरी भेर्नर, सेस्कुहाना टाउनशिपका कमिसनर फ्रेड फेलोना लगायतले पुरस्कार वितरण गरेका थिए।
यसै गरि एसिया प्यासिफिक मामिलाका लागि पेन्सिलभेनिया गभर्नर सल्लाहकार आयोगका कार्यकारी निर्देशक रजिन कारु, भुट्नीज कम्युनिटी ह्यारिसबर्गकाका अध्यक्ष तिलक निरौला, रिलेभेण्ट होम केयरकी निर्देशक आरती क्षेत्री लगायतकले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा सामाजिक अभियन्ताहरू बिनया लुइँटेल,विश्व क्षेत्री,डा खेम अधिकारी,टिका आचार्य, नेत्र आचार्य लगायतको उपस्थिति रहेको थियो।
पुरस्कार वितरण अगाडि लोअर प्याक्सटन टाउनशिपका अध्यक्ष लोमैनले ह्याप्टी टेल्स पार्कमा स्तरीय क्रिकेट मैदान बनाउने घोषणा गरेका छ।
दुई दिने प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यका बिस टिमले भाग लिएका थिए। लिग चरणको खेल ल्यानक्यास्टरमा खेलाइएको थियो।
पुरुष तर्फको फाइनल हुनु अगाडि महिला टिमको मैत्री खेल खेलाइएको थियो। ह्यारिसबर्ग र कोलम्बस महिला टिम बिचको मैत्री खेलमा ह्यारिसबर्ग २-१ सेटले विजयी भएको थियो।
फाइनल खेलको बिचमा ब्लुमिङ लोटस डान्स स्टुडियोका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए।
ग्लोबल तेक्वान्दो एकेडेमीले प्रतियोगितामा सहभागीहरूलाई पानी तथा सफ्ट ड्रिक्स वितरण गरेको थियो।
प्रतियोगिता स्थलमा पेन स्टेट कलेज अफ मेडिसिनले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
प्रतियोगिताका थप तस्विरहरु
फाइनल खेलको हाइलाइट्स
फाइनल खेलको पुरा भिडियो