एनआरएनएको ११ औं अधिवेशनका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं । अक्टोबरमा हुन लागेको गैर आवासीय नेपाली संघ एनआरएनएको ११ औं विश्व सम्मेलन तथा महाधिवेशनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई औपचारिकरुपमा निमन्त्रणा गरिएको छ ।
एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यसहितको टोलीले शीतल निवास पुगेर निमन्त्रणा गरेको हो ।
भेटमा राष्ट्रपति पौडेलले सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएको अध्यक्ष आचायले जानकारी दिए ।
निमन्त्रणा दिन गएका बेला गैर आवासीय नेपालीको नागरिकताको विषयमा पनि छलफल भएको बताइएको छ ।
नागरिकता ऐन जारी गरेको धन्यवाद ज्ञापन गरेका एनआरएनएले अब नियमावली निर्माणका क्रममा रहेको र छिट्टै नियमावली सार्वजनिक हुने आशा ब्यक्त गरेका थिए । राष्ट्रपति पौडेलले एनआरएनएले नागरिकता पाउनका लागि नियमावलीमा अप्ठ्यारा र झन्झटिलो प्रावधान समेट्न नहुनेमा आफू पनि सकारात्मक रहेको बताएका छन् ।