आप्रवासी समस्या समाधानका लागि जिपी कोइराला फाउन्डेसनमा घुम्ती शिविर राख्ने अमेरिकी कांग्रेसवुमन मेङको भनाइ
न्यु योर्क,अमेरिका/ अमेरिकी कांग्रेसवुमन ग्रेस मेङले न्यु योर्क स्थित गिरिजा प्रसाद कोइराला (जीपी) फाउन्डेसनको कार्यालयमा घुम्ती शिविर राखेर आप्रवासीहरूको समस्या समाधान हल गर्न लागि पर्ने बचन दिएकी छिन्।
अध्यक्ष सोमनाथ घिमिरेको नेतृत्वमा रहेको टोली सँग मंगलवार भएको भेटमा कांग्रेसवुमन मेङले यस्तो बचन दिएको फाउन्डेशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘कांग्रेसवुमन आदरणीय ग्रेस मेङले अमेरिकामा जीपी फाउन्डेसनले गरेको सामाजिक सेवाको उच्च प्रशंसा गर्दै आफूले फाउन्डेसनको कार्यालय भ्रमण गरी यदि आवश्यक भएमा फाउन्डेसनकै कार्यालयमा आप्रवासीहरूको समस्या समाधान गर्न घुम्ती शिविर सञ्चालन गरी नेपाली लगायत स्थानीय समुदायका सेवाग्राहीहरूका समस्या हल गर्न लागिपर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो।’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसवुमन मेङले आफू यहाँका जनताद्वारा चुनिएको एक जनप्रतिनीधीको हैसियतले कुनैपनि पार्टी र व्यक्ति एवं समुदायप्रति निष्पक्ष भई कानुन अनुसार क्रमशः यथाशक्य समस्याहरू समाधान गर्न लागी परेको बताएकी थिइन्।
उनले सरकार समक्ष यथेष्ट बजेटको माग गरी विशेष गरी जटिल बन्दैगईरहेको आप्रवासी समस्या समाधान गर्न वर्तमान वाईडेन सरकारलाई घचघचाइरहेको प्रस्ट्याइन। उनले आफूले नेपाल र नेपालीलाई असाध्यै माया गर्ने र मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण गर्ने इच्छा समेत जाहेर गरेकी थिइन।

फ्लसिङ्ग स्थित मेङको कार्यालयमा भण्डै एक घण्टाको भेटमा समसामयिक विषयहरू एवं अमेरिकामा भएका आप्रवासीका विविध समस्या र समाधानका बारेमा छलफल भएको विज्ञप्तिमा जनाइएको छ।
भेटको शुरुमा अध्यक्ष घिमिरेले फाउन्डेसनको गतिविधि बारे मेङलाई जानकारी गराएका थिए। उनले आफूहरूले विशुद्ध सामाजिक गतिविधि गर्दै आएको बताए। स्थापना देखी कोरोना कहरको डरलाग्दो अवस्था हुँदै हालसम्म सामाजिक गतिविधि वारे उनले प्रस्टाएका थिए।
फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामाले नेपाल अमेरिका बिच आपसी सहयोग र सम्बन्ध प्रगाढ रहेको बताउँदै आगामी दिन हरूमा अझ सुमधुर रहोस् भन्ने चाहना रहेको बताए।
प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले अमेरिकामा रहेका लाखौँ आप्रवासी कानुनतः बस्न र काम गर्न योग्य भएता पनि स्थायी बसोबासको अनुमति पाउन अनेकौँ सास्ती व्यहोरेको अवगत गराएका थिए।
उनले बर्सौँ परिवार सङ्ग छुट्टिएर बस्नुपरेको कारणले मानसिक यातना व्यहोरीरहेको हुँदा उनीहरूका समस्याको एक जिम्मेवार सांसदको हैसियतले यथाशक्य शीघ्र कानुनी रूपमा हल गरी दिन अपिल गरे।
यस्तै कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आफ्नो ज्यानको प्रवाह नगरी आफू यु एस एम्बेसी काबुल, अफगानिस्तानमा सुरक्षा अधिकारीको रूपमा तैनाथ हुँदा, आफूले धेरैको ज्यान बचाएको बताए।
उनले अमेरिकाको कानुन र प्रजातन्त्रात्मक शासन व्यवस्था मानी यही मुलुकमा श्रम पसीना सिञ्चित गरी बर्सौँ देखी बस्दै आएको र आफ्ना दुख पीडा हल गर्न एक अभिभावकीय नाताले कांग्रेसवुमन मेङलाई नेतृत्व गरी दिन आग्रह गरे।
त्यस्तै अर्का कार्यसमिति सदस्य रेखा श्रेष्ठले आफूले यसै फाउन्डेसन मार्फत विविध सामाजिक कार्यहरूमा यही समाजको सेवामा खटीँदैआएको र आवश्यक पर्दा भोलीका दिनहरूमा पनि खटी रहने प्रण गरिन्।

भेटको अन्त्यमा फाउन्डेसन परिवारको तर्फबाट उनलाई अतिथि सत्कार स्वरूप नेपालको मौलिक कला र संस्कृति झल्काउने मायाको चिनो फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले हस्तान्तरण गरेका थिए।
फाउन्डेसनका अध्यक्ष घिमिरेको नेतृत्वको टोलीमा उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ, फाउन्डेसनका सदस्य शेखर कार्की, राजीव बतास, पुनम सिटौँला कार्की क्षेत्री, मनोज पौडेल , अनु धिताल लगायत थिए।













