सुनसान बनेको दोरम्बाको रौनक अझै फर्केन

रामेछाप । नरसंहारकारी दोरम्बा हत्या काण्डको २० वर्ष बित्यो । तत्कालीन सरकार र माओवादी विद्रोहीबीच युद्ध विराम भएको बेला सेनाले नियन्त्रणमा लिएका १९ जना सहित २१ जना माओवादीका नेता कार्यकर्ता हत्या गरेको २० वर्ष भयो ।
दाङको हापुरेमा सरकार र माओवादी पक्षबीच वार्ता चलिरहेको थियो । वार्ता सकारात्मक हिसाबले अघि बढेको त थिएन तर भङ्ग पनि भइसकेको थिएन । वार्ता चलिरहेको बेला पनि दुवै पक्षबाट सानातिना युद्ध विराम उल्लङ्घनका घटना भइरहेका थिए ।
तर २०६० साल साउन ३२ गते ठूलो घटना भयो । दोरम्बा हत्या काण्ड भयो । सोही हत्याकाण्ड पछि युद्ध विराम भङ्ग भयो र पुन युद्ध सुरु भयो ।
२०६० साउन ३१ गते राति रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको सेनाको ब्यारेकबाट मेजर राममणि पोखरेलको नेतृत्वमा सेनाको टोली अप्रेसनको लागि निस्कियो । सेनाको टोली रातभरि हिँडेर बिहान तत्कालीन दोरम्बा गाविसको दोरम्बा बजारमा पुग्यो । दोरम्बा बजार नजिकैको एउटा घरमा माओवादीको बैठक र वैवाहिक कार्यक्रम छ भन्ने सेनालाई पूर्व जानकारी थियो ।
युद्ध विरामको बेला भएकोले सेना आउला भन्ने माओवादीले सोचेका थिएनन् । आए पनि आक्रमण गर्छ भन्ने डर उनीहरूलाई थिएन । राति बैठक गरेर बिहान वैवाहिक भोजको तयारी स्वरूप मासु भात पाक्दै थियो ।
चारैतिर कुहिरोले ढाकेकोले नजिकै पनि केही देखिँदैनथ्यो । साउन ३२ गते बिहान दोरम्बा बजार पुगेको सेना माओवादी बसेको घर सोध्दै दोरम्बाको खरिढुंगा पुग्यो ।
सेनाको टोलीले घरको बाहिर सेन्ट्री बसेकालाई त्यही गोली हानी ढाल्यो । बाहिर गोली चलेपछि तत्कालीन जिल्ला सेक्रेटरी हरिप्रसाद दाहाल ललित र अर्का नेता मैनकुमार मोक्तान मदन घरबाट भाग्न सफल भए । बाँकी १९ जनालाई सेनाले नियन्त्रणमा लियो । जसमा माओवादीका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा लगायत जिल्ला स्तरका नेता थिए । एक जनाको शव पछि घटनास्थल भन्दा तल खोलामा भेटियो ।
दोरम्बा बजारबाट १५ मिनेट टाढाबाट उनीहरूलाई दोरम्बा बजारमा ल्याएपछि सेनाले बजारमा डोरी माग्यो । डोरीले सबै जनाका हात पछाडि बाँध्यो । त्यहाँबाट झण्डै ४५ मिनेट टाढा डाँडाकटेरीमा र्पुयाएपछि १९ जनालाई नै लाइन लगाएर गोली ठोकी सेनाले हत्या गरिदियो ।
सो हत्या काण्डपछि माओवादीले युद्ध विराम भङ्ग भएको औपचारिक घोषणा गर्यो र फेरि मार्ने मारिने श्रृंखला सुरु भयो । दोरम्बा हत्याकाण्डले अन्तराष्ट्रिय रूपमा नै दुर्नाम कमायो ।
दोरम्बा हत्या काण्ड पछि माओवादीले सुराकीको आरोपमा दोरम्बामा एक स्वास्थ्यकर्मी सहित दुई जनाको हत्या गरे । धेरै मानिसहरूलाई कारबाही गर्ने भन्दै नाम सार्वजनिक गरे । त्यस पछि दोरम्बाका मानिस रातारात घर छाडेर भागे । दोरम्बा सुनसान बन्यो । घर खाली भए । खाली घरको संरक्षण भएन । वर्षामा पानी चुहिन लागे धेरै घर भत्किए । बचेका पनि मान्छे बस्न लायक भएनन् ।
त्यति बेला भागेका धेरै मानिसहरू काठमाडौंमा नै स्थापित भए । उनीहरू गाउँ फर्कन चाहेनन् । त्यसैले अहिले पनि दोरम्बा खण्डहर बस्ती जस्तै छ ।
दोरम्बा अहिले विगतको पीडालाई बिर्सने प्रयत्न गर्दै छ । डाँडाकटेरी जहाँ माओवादीका १९ जना नेता कार्यकर्ता मारिएको थियो त्यहाँ उनीहरुको स्मृतिमा सालिक राखिएको छ । त्यसको पनि खासै स्याहार र संरक्षण हुन सकेको छैन । वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार हुँदा सालिक बनाएर राखिएको हो ।
विगतको पीडालाई बिर्साउन सरकारले दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा र्गयो । दोरम्बा गाउँपालिका–२ को दोरम्बालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गन्तव्यको गाउँ घोषणा र्गयो तर पूर्वाधारका खासै काम भएनन् । सुरु भएका काममा पनि उचित अनुगमन नहुँदा अनियमितता भयो । बजेट आयो, सकियो ।
दोरम्बामा पर्यटकीय पूर्वाधारका लागि होमस्टे लगायतका केही काम भएका छन् । दोरम्बामा शैलुङ, अग्लेश्वरी, कण्ठेश्वर गुफा, तालाच्यु गढी, डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृति लगायतलाई जोडेर पर्यटन गन्तव्यको विकास गर्ने योजना त बन्यो तर कार्यान्वयन प्रभाकारी हुन सकेन ।
दोरम्बा अहिले पनि कहालीलाग्दो इतिहास सम्झँदै छ । विकास र समृद्धिको पर्खाइमै छ ।