एट्लान्टिक महासागरमा आप्रवासी चढेको डुंङ्गा पल्टियो
पेन्सलभेनिया । एट्लान्टिक महासागरको केप भर्डे टापु नजिक आप्रवासीहरूले भरिएको डुङ्गा पल्टिएको छ । दुर्घटनामा ६० जनाको डुबेर मृत्यु भएको आशंका छ । सोही क्रममा ३८ जनाको उद्धार गरिएको थियो । हालसम्म ७ जनाको शव निकालिएको छ ।
इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन (आईओएम) ले डुङ्गा सेनेगल छोडेको थियो। जहाजमा १०० भन्दा बढी शरणार्थी थिए।
डुंगा कहिले डुब्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका प्रवक्ताले समुन्द्रमा डुबेर बेपत्ता भएका व्यक्तिको मृत्यु भएको अनुमान गरिएको बताए ।
केप भर्डे पश्चिम अफ्रिकी तटमा अवस्थित एक टापु राष्ट्र हो। स्पेनिस क्यानरी टापुहरूमा जाने डुङ्गाहरू यहाँबाट गुजर्छन्। क्यानरी टापुहरूलाई युरोपेली संघको प्रवेशद्वार भनिन्छ।
हजारौं अफ्रिकी आप्रवासीहरू गरिबी र युद्धबाट बच्न अवैध रूपमा युरोपेली संघ पुग्ने प्रयास गर्छन्। तिनीहरू प्रायः साना डुङ्गाहरूमा यात्रा गर्छन् र आफ्नो जीवन जोखिममा राख्छन्।
सन् २०२२ मा क्यानरी टापु पुग्ने क्रममा ५५९ जनाको ज्यान गएको थियो । यस वर्षको पहिलो छ महिनामा क्यानरी टापु पुग्ने प्रयासमा १२६ जना मारिएका वा बेपत्ता भएका छन् । यस अवधिमा १५ वटा डुंगा फुटेका घटना सार्वजनिक भएका छन् । यस वर्षको जनवरीमा केप भर्डेमा उद्धार टोलीले ९० जनाको ज्यान जोगाएको थियो।














