एनआरएनए अमेरिका लम्साल समूहले निर्वाचन तोक्यो, महासचिव गुरुङद्वारा राजीनामा
पेन्सिलभेनिया अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) कै नाममा अमेरिकामा संस्था सञ्चालन गरिरहेको सूर्य लम्साल समूहले निर्वाचनको मिति तोकेको छ।
“एनआरएनए अमेरिकाले आगामी कार्यकाल (२०२३-२०२५) को बोर्ड निर्वाचन सेप्टेम्वर ३, २०२३ मा गर्ने निर्णय गरेको यहाँहरुमा जानकारी गराऊछु।’ अमेरिकावासी एनआरएनहरूको नाममा अध्यक्ष सूर्य लम्सालले जारी गरेको सूचनामा भनिएको छ।
सूचना अनुसार अगस्ट २५ राती ११ः५९ पूर्वीय समय भित्र बन्ने सदस्यले यस निर्वाचनमा सहभागी हुन पाउने भनिएको छ।
‘निर्वाचन आयोगद्वारा निर्वाचनको बृस्तृत जानकारी चाँडैनै प्रकाशित हुनेछ। समयमै सदस्यता सुरक्षित गरी निर्वाचनमा सहभागी हुन अनुरोध गर्दछु।’ लम्सालले आफ्नो फेसबुकमा लेखेका छन्।
महासचिव द्वारा राजीनामा
यसै बिच एनआरएनए अमेरिका लम्साल समूहकी महासचिव सरिता गुरुङले पदबाट राजीनामा दिएको बताएकी छिन्।
‘म सधैँ सिद्धान्तमा हिँड्ने र सही कुरामा अडान लिने व्यक्ति भएको हुनाले एनआरएनए यूएसए महा-सचिव पद बाट जुलाई १० तारिख दिएको राजीनामा अध्यक्ष लम्साल ज्यूले अगस्ट १२ तारिख राति १० बजे स्वीकृत गरी दिनु भएकोमा अध्यक्ष लगायत सम्पूर्ण समितिका सदस्यज्यूहरूलाई धन्यवाद दिन चाहन्छु।’ गुरुङले सामाजिक सञ्जालमा लेखेकी छिन्।
समाज टाइम्स सँगको कुराकानीमा गुरुङले अध्यक्ष लम्साल सँग काम गर्ने अप्ठेरो भएकाले राजीनामा दिएको बताइन्। ‘लम्साल जी सँग काम गर्न गाह्रो, उहाँ अप्ठेरो मान्छ हुनुहुँदो रहेछ, सरसल्लाह नगर्ने नियम नमान्ने त्यही बसेर पद छोडे।’ गुरुङले भनिन्।
उनले अध्यक्षले आपत्तकालिन बैठक बोलाउन भनेर अध्यक्ष लम्सालले म्यासेन्जर ग्रुपमा लेख्ने, आफूलाई थाहै नदिई बैठक बोलाउने गरिएको पनि बताइन।
यसै गरी एनआरएनए अमेरिकाको निर्वाचनमा भाग लिन पाइन्छ भनेर रातारात सदस्य बनाएर ती सदस्यहरूलाई धोका दिइएको, त्यसबारेमा प्रश्न उठाउँदा कार्यसमितिका केही व्यक्तिले अपमान गरेको पनि गुरुङले समाज टाइम्स सँग बनाइन्।

लम्साल समूह एनआरएनए आइसीसीमा विनोद कुवर सँग सम्वन्धित छ। डेलिगेट छनौटमा विवाद भए पछि दुई वर्ष अगाडिको अधिवेशनमा एनआरएनए आइसीसी फुटेको थियो।
एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले विनोद कुवरको अध्यक्षमा नयाँ कमिटी बनाएका थिए। सोही कमिटीले अमेरिकामा लम्सालको अध्यक्षतामा कमिटी बनाएको थियो।













