एक महिनाभित्र ‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
उनले खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातले काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेको भन्दै संघिय सरकारको मातहतमा रहेका सडकहरु वर्षात हटेलगतै स्तरउन्नतीको काममा लाग्ने बताए ।
मंगलवार चक्रपथ बुढानीलकण्ठको सडक अवलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डी रहित काठमाडौं बनाउने पनि बताए ।
उनले भने, ‘दैनिक लाखौ मानिस हिड्ने बाटो खाल्डा र खुल्डी हुँदा निकै सास्ती भयो, अब यो अबस्थालाई हामी छिट्टै अन्त्य गर्छौ’ मन्त्री ज्वालाले भन्नुभयो ‘खाल्डा खुल्डी पुर्न र सडकको स्तरउन्नती गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौ भने सडकको अबस्था हेर्न म आफै नियमित आउँछु ।’
खानेपानी, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिने भन्दै खानेपानी, नेपाल विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकासहितको एउटा समिति पनि बनेको बताए ।
यस्तै, समितिको बैठक छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले जानकारी पनि दिएका छन् ।
उनले भने, ‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ’ मन्त्रालयका सचिव केशव शर्माले भन्नुभयो ‘अब यो अबस्था अन्त्य गर्न छुट्टै बैठक बस्छौ र स्थायी निकास निकाल्छौ ।’
महाराजगञ्ज–बुढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडक खाल्डा र खुल्डी परेको हुदाँ तत्काल हल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिएका छन् ।















