स्पेन महिला विश्वकपको फाइनलमा
न्युजिल्याण्ड । स्पेन अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ ।
सन् २०१५ बाट महिला विश्वकप खेल्न थालेको स्पेनले तेस्रो सहभागितामै फाइनलमा स्थान बनउँदै ऐतिहासिक सफलता हात पारेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा स्पेनले स्वीडेनलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
स्पेनलाई जित दिलाउने क्रममा साल्मा पारालुइलो र ओग्ला कार्मोनाले एक एक गोल गर्दा स्वीडेनका लागि रेबेक्का मारिया ब्लोमभिस्टले एक गोल फर्काइन् । न्युजिल्याण्डको अक्ल्याण्डमा रहेको इडन पार्कमा भएको खेलमा दुव्रै टोलीले खेलको अन्तिम समयमा गोल गरेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा स्पेनले अग्रता बनाएको थियो । स्पेनका लागि साल्मा पारालुइलोले गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेलको ८८ औं मिनेटमा स्वीडेनले गोल गर्दै खेल बराबरी गर्यो ।
उसका लागि खेलको ८८ औं मिनेटमा रेबेक्का मारिया ब्लोमभिस्टले लिना हर्टिङको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटमै स्पेनका लागि ओग्ला कार्मोनाले गोल गर्दै स्पेनलाई जित दिालाइन् । उनले खेलको ८९ औं मिनेटमा ओग्लाले टेरेसा अबिलियराको पासमा गोल गरेकी हुन् ।
स्पेनले पहिलो पटक सन् २०१५ को फिफा महिला विश्वकप खेलेको थियो जसमा समुह चरणबाटै बाहिरिएको थियो । सन् २०१९ मा फ्रान्समा भएको विश्वकपमा अन्तिम १६ मा स्थान बनाएको थियो । अन्तिम १६ मा स्पेन अमेरिकासँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । तेस्रो सहभागितामा स्पेन सन् २०२३ मा फाइनलमा स्थान बनाएको छ ।
अब स्पेनले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि सह आयोजक अष्ट्रेलिया र इंग्ल्याण्डबिच हुने छ । उक्त खेल सिड्नीको रंगशालामा नेपाली समय अनुसार पौने दुई बजे हुने छ ।















