पेन्सिलभेनियामा हुने रेलेभेण्ट कप भलिबलमा २० टिम
ल्यानक्यास्टर, पेन्सिलभेनिया / अमेरिकाको पेन्सिलभेनियामा हुने रेलेभेण्ट कप भलिबल प्रतियोगितामा २० टिम सहभागी हुने भएका छन्।
भुट्नीज कम्युनिटी ह्यारिसबर्ग ( बीसीएच) सँगको सहकार्यमा योङ ब्लड भलिबल टिमको आयोजनामा प्रतियोगिता अगस्ट १९ र २० तारिकमा हुँदै छ।
प्रतियोगिता आयोजक समितिका संयोजक सोम तिम्सिनाका अनुसार पेन्सिलभेनियाको ल्यानक्यास्टर र ह्यारिसबर्गमा गरी दुई ठाउँमा खेलाइने छ। ‘पहिलो दिन लिग चरणका खेल ल्यानक्यास्टरको लिङ्कन हाइवेमा रहेको कवर्डहलमा हुने छ। दोस्रो दिनका खेल हामी ह्यारिसबर्गमा खेलाउने छौ।’ समाज टाइम्स सँगको कुराकानीमा तिम्सिनाले भने।
प्रतियोगितामा पेन्सिलभेनिया बाहेक न्यु योर्क, मेरील्याण्ड, ओहायो, टेक्सास, कोलोराडो र भर्जिनियाका टिमले भाग लिने छन्।
तिम्सिनाका अनुसार प्रतियोगिता लिक कम नकआउटका आधारमा खेलाइने छ। ल्यानक्यास्टरमा इन्डोर हलमा प्रतियोगिता हुने छ। ह्यारिसबर्गमा सेमिफाइनल र फाइनल खेल खुल्ला पार्कमा हुने छ।
दोस्रो दिन भलिबलका साथै बीसीएचको निःशुल्क स्वास्थ्य शिविर पनि हुने छ। प्रतियोगिताको विजेताले आठ हजार र उपविजेताले पाँच हजार अमेरिकी डलर पाउने छन्।
प्रतियोगिताको प्रायोजन रेलेभेण्ट होम केयरले गर्ने छ।















