ट्रान्स अमेरिकनको तीन दिने सेमिनार पेन्सिलभेनियामा सम्पन्न
पिट्सबर्ग, पेन्सिलभेनिया/ ट्रान्स अमेरिकन एशोसिएशन अफ सितोरियो कराते डो अमेरिकाको आयोजनामा तीन दिने सेमिनार सम्पन्न भएको छ।
अमेरिकाको पेन्सिलभेनिया स्थित पिट्सबर्गमा रहेको टास्क होन्बु डोजोमा जुलाई २८ देखि ३० तारिक सम्म भएको सेमिनारमा एक सय भन्दा बढी खेलाडीले भाग लिएको आयोजकको भनाई छ।
ट्रान्स अमेरिकाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक टीआर राईका अनुसार सेमिनार मार्सल आर्ट भावनाको वास्तविक उत्सव भएको थियो।
विश्व च्याम्पियनहरूको उपस्थिति रहेको सेमिनारमा ग्रेडिङ, कुमिते, कोबुडो र काता तालिम लगायतका गतिविधिहरूको रोमाञ्चक लाइनअप प्रस्तुत गरिएको थियो। सेमिनारबाट सहभागी सबैलाई दिगो प्रभाव पारेको जनाइएको छ।

पेन्सिलभेनिया बाहेक ओहायो, केन्टकी, नेब्रास्का, कान्सस लगायतका राज्यबाट खेलाडीले सेमिनारमा भाग लिएका थिए। ‘हाम्रो कार्यक्रममा सहभागिता उत्साहजनक रह्यो।’ ट्रान्स अमेरिकाका अध्यक्ष राईले समाज टाइम्स सँग भने।

सेमिनारमा सहभागीलाई जापानबाट आएका सातौँ डान शिहान केनी केन्जिरो उएडा ओकिनावा प्रशिक्षण दिएका थिए। उनको असाधारण प्रशिक्षण, बुन्काई र मार्गदर्शनले सेमिनारलाई समृद्ध बनाएको खेलाडीहरूको भनाई छ।
नेपाली करातेका संस्थापक शिहान थानेश्वर (टीएस) राईको उपस्थितिले सेमिनारमा थप गौरव थपेको आयोजकको भनाई छ।
यस्तै क्यानडाबाट आएका सेन्सी सुरेन्द्रलाल श्रेष्ठले आफ्नो उपस्थितिमा कार्यक्रमलाई आकर्षक र विशेष प्राविधिक अमूल्य कुमिते तालिम प्रदान गरेका थिए ।
सेमिनारकै अवसरमा पाँच जनाको दोस्रो डानको ग्रेडिङ सम्पन्न भएको थियो। कान्ससबाट सहभागी मणि के गुरुङ, नेब्रास्का कर्ण गुरुङ, केन्टकीका टेक बहादुर राई, हरि सिवाकोटी, रीना माझी दोस्रो डान ग्रेडिङमा सहभागि भएका थिए। उनीहरुको नतिजा तीन महिना पछि प्राप्त हुने छ।


















