एसिया रग्बी यु २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता भदौमा काठमाडौंमा हुने
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । एसिया रग्बी यु २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता – २०२३ काठमाडौंमा हुने भएको छ ।
आगामी भदौ २ र ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगतामा एसियाका ७ देशहरुको सहभागिता रहने भएको छ ।
नेपालले यस अघि इतिहासमा नै पहिलो पटक एसिया रग्बी यु १८ सेभेन्सको आयोजना गरेको यिा । अहिले पाएको यो अवसर दोस्रो ठूलो अन्तर्राष्ट्रिय अवसर हो ।
बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले आयोजनाका लागि नेपाललाई अवसर प्रदान गरेर विश्वास गरेको भन्दै एसियाली रग्बी संघप्रति आभार व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले भने ‘ प्रतियोगिता सफलरुपमा सञ्चालन गर्न रु ७२ लाख खर्च हुने अनुमान गरिएको छ , यस्का लागि एसिया रग्बी, राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद् र बिभिन्न प्रायोजकहरुले साथ दिएका छन् । ’
प्रतियोगितामा एसियाका सात देशहरु भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ,उज्वेकिस्तान र आयोजक नेपालको सहभागिता रहने छ । नेपाली यु २० राष्ट्रिय टोली अहिले पोखरामा प्रशिक्षणमा व्यस्त रहेको पनि नेपाल रग्बी संघले जनाएको छ ।
















