संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानन्यायाधिशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन सकिएको छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे ठोस निर्णय नभई बैठक विनानिष्कर्ष टुंगिएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।
उनले भने ‘प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेगरी बैठक बसिएको थियो। १८ गते ५ बजे प्रधानन्यायाधीश लगायत संवैधानिक अरु रिक्त पदका बारेमा छलफल गर्नेगरी आजको बैठक स्थगित भयो ।’
प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका साँझका लागि संवैधानिक परिषद्को बैठक राखेका थिए।
छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ।
अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि ढिला गरिएको हो।
यो संवैधानिक परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ। वरीयताक्रममा अगाडि रहेका उनले हरिकृष्ण कार्कीलाई प्रतिस्थापन गर्नेछन् ।












