लेखासमितिले, क्वीन्टल सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन ध्यानाकर्षण गराउने

काठमाडौं । सार्वजनिक लेखा समितिले, त्रिभुवन विमानस्थल एक क्वीन्टल सुन प्रकरणबारे उच्चस्तरीय समिति गठन गर्न ध्यानाकर्षण गराउने भएको छ ।
लेखा समितिको आजको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको समितिको सभापतित्व गरेका अर्जुननरसिंह केसीले जानकारी दिए ।
ज्येष्ठ सदस्यका रुपमा समितिको सभापति रहनुभएका अर्जुननरसिंह केसीले आजको बैठकको निर्णय सुनाउँदै भने ‘यो विषय संसद्मा चलिरहेकाले समितिले निर्देशन दिन मिल्दैन । तर उच्चस्रतीय समिति बनाएर गम्भीररुपमा छानबिनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ’ ।
बैठकमा सहभागि सदस्यहरुले अवैध सुन प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका लागि माग ध्यानाकर्षण गराउनु पर्ने बताएका थिए।
बैठकले सिँचाइ अभावका कारण अझै पूर्णरुपमा रोपाइँ हुन नसकेका र तराईका जिल्लामा देखिएको खानेपानी अभावबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।