विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानबारे राष्ट्रसंघ सकारात्मक : प्रधानमन्त्री दाहाल
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
शुक्रबार बिहान इटालीको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल भ्रमणका लागि आफुले दिएको निम्तो गट्रेसले सहर्ष स्वीकार गरेको बताए । गट्रेससँग विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको बारेमा गहन छलफल भएको पनि दाहालले जानकारी दिए ।
उनले भने ‘ औपचारिक कार्यक्रमको अतिरिक्ति सम्मेलनका दौरानमा अत्यन्त्य महत्वपूर्ण साइडलाइन भेटवार्ता र संवादहरु भए, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेस भएको भेटघाट तथा छलफल यहाँहरुलाई अवगत गराउन चाहन्छु । सो अवसरमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदान,बहुपक्षीय विषय र जलवायु परिवर्तनले पारेको प्रभावसहित गरिवी निवारण तथा खाद्य सुरक्षा जस्ता विषयमा छलफल भएको थियो । उक्त अवसरमा मैले उहाँलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्नका लागि निमन्त्रणा समेत गरेको छु । र, सो निमन्त्रणालाई उहाँले सहर्ष स्वीकार गर्नु भएको छ । उहाँ नेपाल प्रति चासोका साथ जानकारी राख्ने शुभचिन्तक रहेको बारे यहाँहरुलाई जानकारी नै छ । ’
प्रधानमन्त्री ‘प्रचण्ड’ ले बंगलादेशका प्रधानमन्त्री शेख हसिना जलविद्युत निर्यातसहित दुई पक्षीय हितमा कुरा भएको बताएका छन् ।
बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न ईच्छुक रहेको बताएका हुन् ।
उनले भने ‘ बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न ईच्छुक रहेको छ । आर्थिक अन्तर निर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यन्वयनको चरणमा रहेको छ । हालै मात्र गरेको भारतको औपचारिक भ्रमणमा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत बंगलादेशमा निर्यात गर्ने सहमति भएको छ । त्यसलाई औपचारिकता दिइ जलविद्युत निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाएको छ । ’
प्रधानमन्त्री दाहालले भेटघाटमा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण सम्बन्ध आपसीसहयोग,क्षेत्रीय सहयोग संगठन सार्कमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरुमा छलफल भएको बताए ।















