गौरीकाको अर्को कीर्तिमान
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
जापान । दक्षिण एसियाली खेलकुद (साग)की ४ स्वर्णधारी गौरीका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो पुरानो समयमा सुधार गर्दै नयाँ समयका साथ राष्ट्रिय कीर्तिमान राख्न सफल भएको टोली नेता एवं नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।
बुधवार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरीकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औँ साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यस अघि गौरीकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन् ।ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपको आज भएको पुरुष तर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११ औँ एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।मङ्गलवार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२.४६ सेकेन्ड समयमा दुरी पुरा गरेकी थिइन् ।
यस अघि डुवानको व्यक्तिगत समय २ मिनट १५.०१ समय रहेको थियो । यस विधामा गौरीकाको नाममा २ मिनट ११.९४ सेकेन्डको समय रहेको छ ।अब नेपाली खेलाडीहरूको दुई खेल बाँकी छ । बिहीबार डुवाना लामाले १०० मिटर फ्रिस्टायल र एलेक्सले शुक्रवार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक नरेश वैद्यले बताएका छन् ।















