लोकप्रिय शक्तिको रूपमा उदाएको कम्युनिस्ट पार्टी आफ्नै कारण चुनौतीपूर्ण अवस्थामा छ: अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपालका कम्युनिस्ट पार्टी आफ्नै कारण चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।
‘समाजवाद,बहस र सङ्घर्ष’ अन्तर्क्रिया कार्यक्रममा शनिवार उनले नेपालमा लोकप्रिय शक्तिको रूपमा उदाएको कम्युनिस्ट पार्टी आफ्नै कारण चुनौतीपूर्ण अवस्थामा पुगेको बताए ।
नेपालले भने, ‘नेपालको सन्दर्भमा हामीले गौरव गर्नुपर्छ । नेपालमा कम्युनिस्ट पार्टी लोकप्रिय शक्तिको रूपमा उदाएको छ तर,हामीलाई चिन्ता के छ भने सँगसँगै यसले अनेकौँ चुनौतीको सामना गरिरहेको छ । अरूको कारणले हैन आफ्नै कारणले ।’
२०७४ को जनमतलाई कम्युनिस्ट सरकारले जिम्मेवारीपूर्ण रूपमा जन अपेक्षा अनुसार काम गरेर सरकार र पार्टी सञ्चालन गर्न सकेको भए आज नेपालको राजनीतिक अवस्था धेरै फरक अवस्थामा पुग्थ्यो उनले भने ।
नेकपा जोगाउन नसकेकोप्रति उनले एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरे ।
‘दुई ठुला पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्र एकताबद्ध भएर बनेको नेकपा बन्यो ।यो कम्युनिस्टको लागि ठुलो ऐतिहासिक उपलब्धि थियो ।त्यसलाई टिकाउन जोगाउन सकिएन ।त्यतिवेलामात्रै होइन निर्वाचन भन्दा पहिले पनि फुटको अवस्था आइसकेको थियो,निर्वाचन पछि पनि त्यो अवस्था आइसकोको थियो । उत्सलाई मिलेर छलफल गरेर जाऊँ भन्दा त्यसलाई लत्त्याउने काम भयो,कम्युनिस्ट भित्र रहेका व्यक्तिवादी रोगहरू विभिन्न तहमा छन् । कम्युनिस्ट आन्दोलनभित्र भएका विकृतिहरूको राम्ररी चिरफार गरिएन भने बोली एउटा र व्यवहार अर्को हुन्छ,’ नेपालले भने ।
नेपालले चुनाव केन्द्रित भएर त्यसमै सीमित बन्नु भन्दा जनतादेखि जनतासम्म कम्युनिस्ट आन्दोलनलाई लानुपर्ने विचार राखे ।
अशेस घिमिरेद्वारा लिखित पुस्तक ‘समाजवाद,बहस र सङ्घर्ष’ नामक पुस्तकको कार्यक्रममा नेता नेपालले आजै विमोचन गरेका छन् ।
लेखक घिमिरेले आफ्नो पुस्तक बारे धारणा राख्दै समाजवादको बहस र सङ्घर्षको बिचमा कम्युनिष्टहरुले एउटा बाटो रोज्नुपर्ने अवस्थामा आइपुगेको बताए ।
उनले नेपाली जनताको लागि साँच्चिकै समाजवाद उन्मुख बाटो रोज्ने कि नवउदारवादलाई सघाउने गरी पुँजीवादलाई समर्थन गर्ने भन्ने विषयमा कम्युनिष्टहरुले वैज्ञानिक बहस गर्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले समाजवादको बहस र सङ्घर्षलाई ठिक बाटोमा हिँडाउन समाजवादको पक्षमा लागेका दलले चार कुराका तयारी गर्नुपर्ने आवश्यकता भएको उल्लेख गरे ।
त्यसका लागि उनले पहिलो नम्बरका विचारधारातक तयारी हुनुपर्ने बताए । वर्ग पक्षधरताको विचारधारालाई बुझेर अगाडि बढ्ने तयारी गर्नुपर्नेमा उनको जोड छ । यस्तै,साङ्गठनिक तयारी, जनपरिचालनको तयारी लगायतका विषयमा कम्युनिस्ट नेताहरूले साङ्गोपाङ्गो रूपमा स्पष्ट हुन जरुरी भएको धारणा राखे ।















