कांग्रेस बैठक चौथो दिन पनि बस्दै, सभापति र महामन्त्रीहरूको आलोचना
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (शुक्रबार) चौथो दिन पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगनकुमार थापाद्वारा केन्द्रीय कार्यालयका तर्फबाट राखिएको एजेन्डा माथि सदस्यहरूले आ–आफ्ना धारणा राख्ने कार्यक्रम छ ।
मंगलबारबाट सुरु केन्द्रीय समितिको बैठकमा बिहीबार ३५ जना सदस्यहरूले आआफ्ना धारणा राखेका छन् भने बुधबार ४६ जना बोलेका थिए । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि पार्टी पदाधिकारीहरूले आफ्ना धारणा राख्ने छन् । १ सय ५९ सदस्य कांग्रेस केन्द्रीय समितिको बैठकमा अधारणा राख्ने अधिकांस सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका छन् ।
सभापति मात्र नभएर महामन्त्रीहरूले पनि पार्टीलाई विधि तथा विधान अनुसार सञ्चालन गर्न, जनतामा आशा र भरोसा जगाउने गरी नीति तथा कार्यक्रम बनाउन असफल भएको आरोप लगाएका छन् ।पार्टी नेताहरू संगठन परिचालनमा भन्दा आत्मकेन्द्रीत भएर अघि बढेको सदस्यहरूले गुनासो गरेका छन् ।
मंगलबारबाट सुरु भएको बैठकमा महामन्त्री थापाले २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्म एक वर्ष गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डरसहितका एजेन्डाहरू पेस गरेका छन् । जारी बैठकबाट पार्टी संगठन परिचालनका लागि कांग्रेसले विभिन्न अभियान तय गर्नेछ ।














