प्रशिक्षणका नाउँमा खेलाडीसँगै असुली, जिल्ला खेलकुद विकास समितिले खेल संघलाई पत्राचार
कास्की । पोखरा रंगशालामा प्रशिक्षणको नाममा ठगी धन्दा हुँदै आएको भन्दै जिल्ला खेलकुद विकास समिति कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पोखरा रंगशाला भित्र खेल संघले नभइ व्यक्ति मार्फत मनलाग्दी रकम असुल्ने गरेको, लामो समयदेखी व्यक्तिले रंगशालामा प्रशिक्षण गराउदै संस्थाको नाम लिने र अवैध तरिकाले रकम उठाउदै आएको चौतर्फी चर्चा भएपछि समितिले विभिन्न खेल संघहरुलाई पत्राचार गरेर यथार्थ विरण पठाउन भनेको छ ।
प्रशिक्षणका नाउँमा केही व्यक्तिहरुले रंगशालाको स्वयंसेवक प्रशिक्षकको बहानामा खेलाडीबाट रकम उठाउने गरेको बताउने गरिएको छ ।
कास्की जिल्ला खेलकुद विकास समितिले दर्जन बढी खेल संघसंग लिखित जवाफ समेत मागेको स्रोतले बताए । कास्की जिल्ला खेलकुद संघले खेलाडिबाट असुल्ने गरेको रकम, खेल संघको वैधानिकता लागायत विषयमा जवाफ माग गरेको अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए ।
उनले गरेको पत्राचारको व्यहोरा यसप्रकार छ ।
‘उपरोक्त सम्बन्धमा यस समिति अन्तर्गत रहेको पोखरा रंगशालामा संचालन हुदै आएका खेल प्रशिक्षण कार्यहरुबाट नियम विपरित खेलाडीहरुबाट अनाधिकृत रुपमा रकम असुल्ने गरेको, आर्थिक कारोबार गर्दा प्रचलित कानून विपरित हुने गरेको, विना निर्णय, विना बिल कारोबार हुने गरेको हिसाव किताव पार्दर्शी नगरेको भन्ने उजुरीका आधारमा जवाफ पेश गर्नु पर्ने भएको हुँदा त्यस संघबाट खेलाडीहरु प्रशिक्षण गर्दै गराउदै गर्दा खेलाडी भर्ना हुँदा र मासीक शुल्क लिदा के कसरी लिने गरिएको छ ? संघ दर्ता वा आर्थिक कारोबारको लेखा परिक्षण भएको छ छैन ? पान नं. लिएको छ छैन ? राज्यलाई तिर्नु पर्ने कर तिरेको छ छैन ? उपरोक्त विवरण ५ (पाच) दिन भित्र पुष्टि हुने गरि विवरण उपलब्ध गराई दिन हुन अनुरोध गरिएको छ ।’














