अमेरिकामा सम्पन्न ‘राकेश काफ्ले स्मृति कप फुटबल ‘ टेक्सस र कोलम्बस बने च्याम्पियन
एक्रोन,ओहायो / ‘राकेश काफ्ले स्मृति कप’ फुटबलमा भेट्रान्स तर्फको उपाधि टेक्सस एफसीले जितेको छ। यस्तै यूथ तर्फ यूथ स्टार एफसी कोलम्बसले राखेको छ।
साङ्ग्रिला यूथ फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा भेट्रान्स तर्फ च्याम्पियन बन्ने क्रममा टेक्सस एफसीले कोलम्बस एफसीलाई चार शून्य गोल अन्तरले हरायो।
उपाधि टेक्सस लैजाने क्रममा गत आइतबार भएको फाइनल खेलमा गोलको कथा थापा बन्धुहरूले कोरेका थिए। एकतर्फी खेलमा नरेश थापा, नीरज थापा, राजेन्द्र थापा र भरत थापाले एक एक गोल गरे। भेट्रान्स तर्फ टेक्ससका सङ्गीत कुमार रजक उत्कृष्ट गोलकिपर घोषित भए। टेक्ससकै परेश गुरुङ मिडफिल्डमा उत्कृष्ट ठहरिए। डिफेन्समा कोलम्बसका कार्लोस लिम्बु र स्ट्राइकरमा सिन्सी इन्ट्रा एफसीका कर्ण पौडेल उत्कृष्ट घोषित भए।
यूथतर्फको उपाधि जित्ने क्रममा यूथ स्टार एफसी कोलम्बसले बाल्टीमोर एथलेटिक्स क्लबलाई पेनाल्टी सुट आउटमा ५–३ ले हरायो।
टिमलाई उपाधि दिलाउन उल्लेख्य भूमिका खेलेका विक्रम हुमागाईँ उत्कृष्ट गोलकिपर घोषित भए। कोलम्बस नवीन गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए।
ट्राई ब्रेकरमा असफल हुँदा उपाधिबाट वञ्चित बाल्टीमोरमा सुमन राई उत्कृष्ट डिफेन्स र प्रज्ञान काफ्ले
उत्कृष्ट स्ट्राइकर घोषित भए। काफ्लेले प्रतियोगितामा व्यक्तिगत तीन गोल गरेका थिए।
तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा भेट्रान्स र यूथ दुवै तर्फ १२-१२ टिमले भाग लिएका थिए। ३५ वर्ष भन्दा माथि उमेर समूहका खेलाडी भेट्रान्स र ३५ वर्ष भन्दा कम उमेरका खेलाडीले यूथ तर्फ खेलेका थिए।
यूथ तर्फको विजेताले दश हजार र उप विजेताले ६ हजार अमेरिकी डलर र ट्रफि तथा प्रमाण पत्र पाए।
यस्तै भेट्रान्स तर्फको विजेताले सात र उप विजेताले पाँच हजार डलर नगद र ट्रफि तथा प्रमाण पत्र पाए।
प्रतियोगिताको विजेता तथा उपविजेता लाई पुरस्कार वितरण समारोहमा समाजमा विभिन्न माध्यमबाट योगदान दिने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।
इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीलाई ‘सोसल अवार्ड’ प्रदान गरिएको थियो। यस्तै खेलकुद अवार्ड भुटनीज अमेरिकन प्रिमियर लिगका निर्देशक राकेश भट्टराईलाई र सङ्गीत अवार्ड विष्णु रामदमलाई प्रदान गरिएको थियो।















