साइकल चालकलाई कुटपीट गर्ने युवक प्रहरी नियन्त्रणमा
विराटनगर । गत वुधवार राति विराटनगरमा साइकल चालकलाई कुटपिट गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रातिको समयमा साइकल चालकलाई कुटपिट गरेको अभियोगमा मोरङका आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगको मुद्दामा म्याद लिएर कानुनी कारबाही अगाडि बढाएको जनाएको छ ।
मोरङको विराटनगर महानगरपालिका ४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक २७ वर्षीय पवन साहलाई कारमा सवार भेटुवालले कुटपिट गर्दै घिसारेर सडक छेउमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले चासो दिएर अनुसन्धान अघि बढाएको थियो ।
सोही घटनामा संलग्न भएको पुष्टि भएपछि प्रहरीले भेटुवाललाई नियन्त्रण्मा लिएको छ । घटनामा संलग्न अरु २ जना कुशल भेटुवाल र रोशन कार्कीलाई पनि प्रहरीले खोजि गरिरहेको जनाएको छ ।
बा १५ च ३४४५ नम्बरको कारमा आएका उनीहरूले विपरीत दिशाबाट गुडिरहेको साइकलका चालक साहलाई मुक्का प्रहार गरी लडाएर सडकबाट घिसारेर किनारमा छाडेर हिँडेका थिए ।
प्रहरीले सार्वजनिक गरेको विवरण यस प्रकार छ ।
विराटनगरमा साईकल चालक उपर भएको कुटपिट सम्बन्धमा
मिति २०८०।०३।२० गते राती अं २०:३० बजेको समयमा जिल्ला मोरङ विराटनगर म.न.पा. ०४ दुधफारम स्थित कोशी राजमार्गमा साईकल चालक जिल्ला मोरङ विराटनगर म.न.पा ०६ बस्ने वर्ष २७ को पवन साहलाई विपरीत दिशाबाट जाँदै गरेको बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवाल, बर्ष अं. १८ को कुशल भेटुवाल र जिल्ला तेह्रथुम घर ठेगाना भएका वर्ष ३० को रोशन कार्की समेत ३ जनाले उक्त साईकल चालकलाई अचानक कारबाट झरी मुक्का प्रहार गरी लडाई घिसारी घाइते बनाएको विषयमा मिति २०८०।०३।२१ गते निज पीडकहरू मध्ये आयुष भेटुवाललाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडी बढाइएको ।
सोही घटनामा संलग्न रही फरार रहेको २ जनाको जि.प्र.का मोरंगले खोजतलास गरिरहेको व्यहोरा जानकारी गराउन चाहन्छौं ।













